Aamsanchar

हाँसपोखरी कुटिडाँडामा पार्किङको समस्या

Author Image
मङ्गलवार, असोज ३, २०७४

इलाम।

माथी डाँडामा पाथीभरा मन्दिर र रमिते टावर । निकै टाढाबाट मन्दिरको दर्शन गर्न आएका भक्तजन । नजिकैको हाँसपोखरी अनि अर्किड जोन पनि । धेरै पर्यटक तथा भक्तजनहरुले लिएर आएका गाडी पार्किङ गर्नुपर्ने नै हुन्छ । तर, पार्किङको निश्चित र भरपर्दो स्थान नभएकाले समस्या हुने गरेको छ । समस्या मात्र होइन कतिपय अवस्थामा हाँसपोखरीको सौन्दर्यतामा पनि अशोभनीय देखिने गरेको त्यहाँ पुग्ने भक्तजन तथा पर्यटकहरु बताउँछन् ।
पोखरीको छायाँ आउने गरी फोटो खिच्न चाहनेहरुलाई पार्किङमा राखिएका गाडीहरुले समस्या आएको कतिपय पर्यटकहरुले गुनासो गर्ने गरेका छन् ।
इलामको रोङ गाउँपालिका–३ मा पर्ने हाँसपोखरी र कुटिडाँडा क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने उचित स्थान नहुदा यस्तो समस्या पर्ने गरेको हो । पाथीभरा मन्दिर र हाँसपोखरी क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् । त्यहाँ आउने पर्यटकहरुले पुनः निर्मित हाँसपोखरीको डिलमा सवारीसाधनलाई पार्किङ गराएर राख्ने गरेको हाँसपोखरी पुनःनिर्माण उपसमितिका संयोजक योगेश चाम्लिङ बताउँछन् ।
‘पोखरीको डिलमा केही स्थान खुल्ला रहेको छ ।, संयोजक चाम्लिङले भने– ‘खुल्ला भएकाले साना तथा ठूला सवारीसाधन त्यही पार्किङ हुने गरेको छ ।’ पाथीभरा मन्दिर आउने भक्तजनहरुले बिशेष गरेर शनिबार र मंगलबारलाई पबित्र बारको रुपमा लिने गरेको पाइन्छ । ती दिनहरुमा सवारी चाप पनि बढी हुने गरेको स्थानीय होटल ब्यवसायी बिष्णुमाया भुजेल बताउँछिन् ।
पार्किङ गर्दा सवारीको कम्पनको कारणले पानी समेत लिकेज हुनसक्ने सम्भावना रहेको वडा नम्बर ३ का वडाअध्यक्ष मात्रिका बरालले बताए । ‘गाडी राखिएको स्थानपछि थुपारिएको कच्चा माटो भएकाले पानी लिकेज पनि हुनसक्ने सम्भावना छ ।, वडाअध्यक्ष बरालले भने– ‘वडा कार्यालयले यसको लागि आवश्यक पर्ने र उचित स्थानको छनौट गरेर गाडी बिसाउने ठाउँ बनाउने योजना रहेको छ ।’
बजारको रुपमा बिकसित हुँदै गरेको कुटिडाँडा हासपोखरी र हर्कटे क्षेत्र रोङ गाउँपालिकाको ब्यापारिक क्षेत्र पनि हो । पार्किङलाई गाउँपालिकाको दीगो आम्दानीको स्रोतको रुपमा पनि लिन सकिने सम्भावना रहेको छ ।
कसरी हुन सक्ला त ब्यवस्थित पार्किङ
दैनिक दुई सयजना मानिस पाथीभरा मन्दिर क्षेत्रको भ्रमण गर्न मात्र आउँछन् भन्ने अनुमानलाई मात्र आधार मान्दा पनि सामान्यतया २० वटा सवारीसाधन प्रयोग हुनसक्छ । हाँसपोखरीबाट पाथीभरा मन्दिर, रमिते डाँडा, कुहिरोबाट पानी संकलन गर्ने प्रबिधि, आदिको अवलोकन गरेर फर्कदा कम्तीमा दुई घण्टा समय खर्चिदा पनि सवारीसाधनले सडक किनारमै पर्खेर बस्नुपर्ने अहिलेको अवस्था छ ।
यस्तो अवस्थामा गाडी असुरक्षित हुने सम्भावना रहेको छ । यसको लागि हाँसपोखरी आसपासमा सुरक्षित पार्किङस्थल बनाउनुपर्ने आवश्यकता रहेको रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राई बताउँछन् । हाँसपोखरी मुनी चिण्डेपानी जाने बाटोतिर पार्किङ स्थल बनाए सवारी सुरक्षित हुने सवारीचालक बिनोद धिमाल पनि बताउँछन् ।
हाँसपोखरीमा रहेको शिद्धदेवी संरक्षण संस्थाले मेची पहाडी पर्यटन प्रबद्र्धन समिति इलामको सहयोगमा हाँसपोखरी पुनःनिर्माण गर्दा बनाएको नक्सा अनुसार हालको मेची राजमार्ग मुनी नै पार्किङ हुने नक्सा तयार भएको सो संस्थाका अध्यक्ष तिलमान राई बताउँछन् । यतिबेला पाथीभरा र हाँसपोखरी क्षेत्रको अलग–अलग समिति क्रियाशील छ । यी बिभिन्न समितिलाई एकीकृत (मर्ज) गरी बिकास गर्न जरुरी रहेको भक्तजनहरुको धारणा रहेको छ । पाथीभरा मन्दिर आउने भक्तजनले गरेको खर्च अथवा लगानीको भरमा त्यस क्षेत्रमा अहिले पनि दर्जनौं सानाठूला पसल तथा होटलहरु सञ्चालित छन् ।
नजिकैको अर्किड संरक्षण गृह सामुदायिक भवन र गुगल पार्क समेतलाई एकीकृत गुरुयोजना बनाएर बिकास गर्ने हो भने हाँसपोखरी क्षेत्रमा धार्मिक पर्यटनको बिकास गर्न सकिने सम्भावना छ । भारतको सिक्किममा पर्यटक आकर्षण गर्न कृतिमरुपमा पार्क तथा मठ मन्दिर बनाइएको छ । २०२८ सालमा भएको नापी अनुसार वन क्षेत्र छुट्टिएकाले वनको संरक्षणसहितको बसपार्क बनाउनुपर्ने हर्कटेका समाजसेवी रेवतीरमण पौडेल बताउँछन् । हजारौं पर्यटकले त्यस क्षेत्रको भ्रमण गर्दा लाखांै रुपैयाँ आम्दानी भइरहे पनि दीगो र ब्यवस्थित बिकास नहँुदा बर्षेनि लाखौंको लगानी बालुवाको पानी भइरहेको छ ।

Views: 283

प्रतिक्रिया (०)