Aamsanchar

बिर्तामोड नगरपालिकाले बृद्धाश्रममा मनायो संविधान दिवस

Author Image
मङ्गलवार, असोज ३, २०७४

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बृद्धाश्रमका बृद्धबृद्धालाई फलफूल वितरण गरी संविधान दिवस मनाएको छ । मंगलबार बिहान नगरपालिकाले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी त्यहाँका २० जना बृद्धबृद्धालाई फलफूल वितरण गरेको हो ।

 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, ४ नम्बर वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौला, ८ नम्बरका वडाध्यक्ष अजय कार्की, नगरपालिकाका कार्यकारीणि सदस्यद्वय सुरेन राजवंशी र भावना आचार्य, नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्की, प्रशासन शाखा प्रमुख मेघराज बास्तोला, शसस्त्र प्रहरी शनिश्चरेका डिएसपी बालकृष्ण श्रेष्ठ, नगरपालिकाका कर्मचारी लगायतले बृद्धबृद्धालाई फलफूल वितरण गरेका थिए ।
फरक ढंगले संविधान दिवस मनाउने उद्देश्यले बृद्धाश्रमका बृद्धबृद्धालाई फलफूल वितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले बृद्धाश्रम सञ्चालन गर्न आइलाग्ने समस्याहरु लिखित रुपमा नगरपालिकामा दिन सञ्चालक समितिसँग आग्रह गरे । बृद्धाश्रमलाई नगरपालिकाले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेयर शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष विक्रम मादेन, सचिव हरि सिटौला, सहसचिव कल्पना दाहाल, नर्वदा श्रेष्ठ, सूर्यनारायण गणेश लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बास्तोलाले गरेका थिए ।
हाल उक्त बृद्धाश्रममा ११ जना बृद्ध र ९ जना बृद्धा गरी २० जना बृद्धबृद्धा रहेको संस्थाका अध्यक्ष मादेनले जानकारी दिए । संस्थाले बृद्धबृद्धालाई संरक्षण मात्र नगरेर किन बृद्धबृद्धाहरु एक्लै भइरहेका छन् भन्ने विषयमा अनुसन्धान पनि गरिरहेको संस्थाका सचिव सिटौलाले बताए । केही बृद्धबृद्धाका घरपरिवारसँग संवाद गरी घर फर्काउन पनि सफल भएको उनले स्मरण गरे ।
सञ्चालक समितिले सुरुमा आफ्नै गोजीको पैसाबाट २०६६ सालमा बृद्धाश्रम सुरु गरिएको जनाएको छ । बृद्धबृद्धाको पालनपोषण र औषधोपचारमा महिनाको झण्डै २ लाख रुपैयाँसम्म खर्च हुने गरेको कार्यक्रममा जनाइयो । पछिल्ला वर्षहरुमा बिर्तामोडबासीको सहयोगका कारण केही सहज भएको सचिव सिटौलाले बताए । संस्थाले बिर्तामोड नगरपालिकासँग सहकार्य गरेर अझ फरक ढंगले अघि बढ्ने लक्ष्य लिएको छ ।
‘यहाँ बस्नुहुने केही बुबाआमाको त नाम पनि छैन, कसैले आफ्नो नाम साइँला हो भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ,’ संस्थाका सचिव सिटौलाले भने, ‘उहाँहरु सबैको आ–आफ्नै कथाव्यथा छ, कोही गिलो भात मात्र खानुहुन्छ, कोही रोटी खानुहुन्छ, कोही चाउचाउ खानुहुन्छ ।’ बृद्धबृद्धाको हेरचाह गर्नका लागि संस्थाले कर्मचारीसमेत राखेको छ ।

Views: 178

प्रतिक्रिया (०)