बिर्तामोड।

गत असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना पुगेको छ । लमो समयपछि भएको स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुले विकास गर्छन् भन्ने मान्यता आम जनतामा रहेको थियो ।
जनप्रतिनिधि आएसंगै विकास तथा परिर्वतनका कामहरु शुरु भएको छ । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको विर्तामोड शहरलाई व्यवस्थित बनाउने विषयमा नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको अगुवाईमा सडक विस्तार गरेर परिर्वतनको अनुभूति दिलाउन शुरु गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग, सदरमुकाम जोड्ने सडक तथा पूर्वी पहाडी जिल्लाहरु जानेबाटोले छोएको बिर्तामोड साँघुरो बन्दै जाँदा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न समस्या पर्न थालेको र यो विषयमा सडक विभाग र सम्बन्धित नगरपालिका लाई जानकारी गराएपछि बाटोको भाग छुट्याउने काम पनि शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए ।
साँघुरा सडक, सडक किनारमा फुटपाथ व्यापार साथै निर्माण सामग्री थुपार्ने प्रवृत्ति बढ्नुले दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक व्यवस्थापनलाई प्राथमिकता दिएको छ । संघीय प्रहरी इकाई मेचीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले पनि ट्राफिक प्रहरी प्रमुख गिरीलाई सडक व्यवस्थापनमा साथ दिएका छन् ।
जिल्लाको ट्राफिक व्यवस्थानमा आफैं सक्रिय भएर दिनरात दौडधुप गर्ने गिरीको कामको सर्वसाधारणले प्रशंसा गर्न थालेका छन् । बिर्तामोडको सडक बिस्तारमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य गर्दै ट्राफिक प्रहरी प्रमुख गिरीले सडक विस्तार शुरु गरेपछि अब पैदलयात्रीलाई सहज हुने सर्वसाधारणको भनाइ छ ।
बिर्तामोड नगरपालिका–१का रामकुमार सुब्बाले सडक विस्तारसँगै ट्राफिक प्रहरीले गरेको सवारी ब्यवस्थापन अत्यन्त राम्रो काम भएको बताए । उनले भने– अब हामी जस्तो साइकल यात्री तथा पैदलयात्रीलाई धेरै राम्रो भएको छ । त्यस्तै बिर्तामोडकै सोनु अधिकारीले भनिन्– स्थानीय जनप्रतिनिधिसँग ट्राफिक प्रहरीले सहकार्य गरेर सडक विस्तार थाल्नु अत्यन्त राम्रो काम हो । यो काम सडक विभाग र यातायात कार्यालयको हो तर ट्राफिक आफैं खटेको देख्दा खुशी लाग्छ ।
जिल्लामा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरी सक्रिय भएर लागेको छ । ट्राफिक प्रहरीले सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी कक्षा, चालकसँग एक मिनेट, विभिन्न यातायातको संकेतबारे जानकारीका साथै असोज १ गतेबाट पूर्वका शहरहरुमा हर्न निषेध अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले बताए । उनले भने– थोरै संख्यामा ट्राफिक प्रहरी भएपनि नेपाल प्रहरीसँगको सहकार्यमा चेकजाँचमा कडाई गरेका छौं । अझ ट्राफिक व्यवस्थापनमा एसएसपी साब नै हामीसंगै हिँड्दा हौसला बढेको छ । झापामा ट्राफिक नियम उल्लंघन गर्नेहरु खासै नघटेको र अब कारबाहीलाई अझ कडा गरिने गिरीले बताए ।
मेची अञ्चलको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको बिर्तामोडको बाटो बिस्तार अभियानलाई सबै स्थानमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्र अन्तर्गत बाटोको भाग छुट्याएर काम गर्ने र सबैले यसमा साथ दिन मेयर शिवाकोटीले आग्रह गरे ।
दाताको खोजीमा गिरी
बिर्तामोडको अतिथि सदन रोडबाट आएको पानीलाई सडक दक्षिणतर्फ पनि निकास दिनुपर्ने भएको र त्यहाँ एउटा फलामे पुलको आवश्यकता परेको गिरीले बताए । दाताहरुले गर्नुभएको सहयोगले अन्धुवा खोलाको उत्तर र दक्षिणमा पुल निर्माण भएर पैदल यात्रीलाई धेरै सजिलो भएको छ, अब त्यो स्थानमा पनि एउटा फलामे पुल निर्माण गर्न पाए पैदलयात्रीलाई सहज हुने थियो । ट्राफिक प्रहरी मनकारी दानवीरको खोजीमा छ– गिरीले भने ।

