Aamsanchar

बीएण्डसी हस्पिटल सहित देशभरका चिकित्सक आन्दोलित

Author Image
शुक्रवार, असोज ६, २०७४

झापा ।

नेपाल चिकित्सक सङ्घले शुक्रवारदेखि मुलुकभर आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ । सङ्घको आह्वानमा मेची अञ्चलका चिकित्सक पनि आनदोलित भएका छन् ।
सङघले बुधवार विज्ञप्ति जारी गरी सरकारले माग सम्बोधन नगरेको भन्दै असोज ६ गतेदेखि सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको थियो । आफूहरुका माग सम्वोधन गर्ने विषयमा सरकारले गम्भीरता नदेखाएकाले आन्दोलनमा उत्रिनु परेको हाडजोर्नी विशेषज्ञ डा. निराजन पराजुलीले बताउनु भयो ।
गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेपछि देशभरका चिकित्सकले सो निर्णय अविलम्व सच्याउन माग गर्दै आएका छन् । सरकारको यो निर्णय आफैँमा गलत भएको डा. पराजुलीले बताउनु भयो ।
विरोधस्वरुप चिकित्सकहरु हातमा कालोपट्टी बाँधेर बसेका छन् । आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । चिकित्सक आन्दोलित भएपछि त्यसको प्रत्यक्ष मार बिरामीलाई परेको छ । उपचारका लागि आएका बिरामी अस्पतालमा अलमलका साथ बसिरहेका छन् । कतिपय दुख पाइयो भन्दै फर्किरहेका छन् ।
बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई सरकारले गलत निर्णय गरेको बताउनु भयो । चिकित्सकको आन्दोलनमा आफूहरुको समर्थन रहेको जनाउँदै कार्यकारी निर्देशक प्रसाईले यसलाई अविलम्व नसच्याइए बिरामी उपचारका लागि भारत जाने र यसबाट सरकारलाई घाटा हुने बताउनु भयो । चिकित्सकको आन्दोलनका कारण मेचीका पहाडी जिल्लाबाट उपचारका लागि झरेका बिरामी बढी मारमा परेका छन् ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर