काँकडभिट्टा।
दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ ।
भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो । जगतलाई रकम हस्तान्तरण गरेर भेलोर पठाइसकेको समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका उहाँलाई आवश्यक उपचार गर्न सहयोग जुटाउन मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक र गोपाल बस्नेत सदस्यसचिव रहेको करिब एक दर्जन सदस्य रहने गरी समिति गठन गरिएको थियो ।
समितिले मुलुकभित्र र बाहिरका नेपालीबाट सहयोग रकम संकलन गरेर रु २४ लाख ६८ हजार बैंकमा जम्मा गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।
जगत तामाङलाई उहाँकै कान्छी बहिनी हिरा तामाङले एउटा मिर्गौला दान गर्नुहुने भएको छ ।