काठमाडौँ,

सरकारले सीमा सुरक्षा कडाइ गरी रोहिंग्या समुदायको अवैध प्रवेशलाई रोक्नुपर्नेमा जोड दिइएको छ । पच्चीस जोड समूहले यहाँ आयोजना गरेको अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले उनीहरुको अवैध प्रवेशलाई रोक्न नसकेमा देशमा शरणार्थीको समस्या आउने हुँदा त्यसलाई समाधान गर्न सरकार संवेदनशील हुनपर्नेमा जोड दिनुभयो ।

समूहका संयोजक आदित्यमान श्रेष्ठले म्यान्माबाट आएका रोहिंग्यालाई सरकारले कूटनीतिक पहल गरी सोही मुलुक फर्काउनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले केही दिन अगाडि वीरगञ्जमा सात रोहिंग्याली भेटिएकामा उनीहरुलाई फर्काइएको जानकारी दिँदै विभागले निगरानी बढाएको बताउनुभयो ।

समूहका सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक ठाकुरमोहन श्रेष्ठले ९० को दशकमा एक लाख १२ हजार भुटानी प्रवेश गरेको र त्यसभन्दा अगाडि करिब ११ हजार तिब्बती नेपाल आई शरणार्थीका रुपमा परिचयपत्र प्राप्त गरेको बताउनुभयो ।


समूहका सदस्य अनिल योगीले कपन क्षेत्रमा करिब पाँच सय रोहिंग्याली प्रवेश गरिसकेको जानकारी दिँदै सरकारले प्रहरी प्रशासनलाई सीमा सुरक्षा कडा गर्न निर्देशन दिनुपर्ने सुझाव दिनुभयो ।

