भीमदत्तनगर,
दशैँ पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली आज भारतमा लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताउनुभयो ।
लुटिएका पाँचै जना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर प्रहरीको सम्र्पकमा आएका थिए । प्रहरीले उनीहरुलाई हेल्प डेस्कको सहयोगबाट घर पठाउने गृहकार्य गरिरहेको जनाएको छ ।