बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । व्यवसायी तथा समाजसेवी गिरी कञ्चनजंघा क्रसर उद्योग तथा कञ्चन निर्माण सेवाका सञ्चालक हुन् । पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले सहयोगको घोषणा गरेकोमा उनलाई धन्यवाद ज्ञापन गरे ।
उनी क्रसर व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्य, निर्माण व्यवसायी संघ झापाका सल्लाहकार र परिवार नियोजन संघ झापाको सचिव समेत रहेका छन् । पत्रकारहरु बिरामी, घाइते हुँदा चन्दा माग्नु नपरोस भनी दीगो सोचका साथ कोष स्थापनाका लागि महासंघले सञ्चालन गरेको अभियानको गिरीले प्रशंसा गरेका छन् । उनले उक्त रकम दशैं लगत्तै हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

सोमबार साँझ एक्सपर्ट एजुकेशन भिषा सर्भिसेज बिर्तामोड शाखाले आयोजना गरेको पत्रकारहरुसँगको शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथिको रुपमा उपस्थित गिरीले कोषलाई उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

हालसम्म ३० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए । पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।
पत्रकार महासंघले सहकारीसहित विभिन्न संघ–संस्था तथा विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक पटकका लागि पत्रकार उपचारकोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।
महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

