Aamsanchar

दशैंको नाममा बिकृति मौलाउँदै

Author Image
मङ्गलवार, असोज १०, २०७४

बिर्तामोड।

नेपालीको सांस्कृतिक पर्व दशैंमा बिकृति मौलाउँदै गएको छ ।जवरजस्ती चन्दा उठाएर टोल–टोलमा गरिने दुर्गा पूजामा बिकृति मौलाउँदै गएको हो । अहिले गाउँदेखि शहरसम्म सबैतिर दुर्गापूजाको नाममा चन्दा उठाएर अनावश्यक तड्क भड्कका साथ दुर्गा पूजा गर्ने परिपाटीले विकृति बढाएकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् ।
मानिसलाई उत्तेजित पार्ने किसिमका हिन्दीको लयमा भजन लगाएर कोलाहलपूर्ण वातावरण सृजना गर्दै गरिने दुर्गा पूजाले हिन्दू संस्कृतिको संरक्षण नहुने उनीहरुको भनाइ छ । मध्यरातसम्म ठूलो आवाजमा माइक बजाएर हुने ध्वनि प्रदूषण र भड्किलो पूजा तयारीका कारण दशैंलाई विकृत बनाइएको सरोकारवाला बताउँछन् ।
दशैंमा गहना र गुडियामा सजिएर होइन मानव मुक्तिका लागि संघर्ष गर्नुपर्छ भन्ने प्रेरणा दिनुपर्नेमा अनावश्यक तामझामका साथ मनाइने दुर्गा पूजाले विकृति भित्रिएको बताउँछन्– समाजसेवी गोपालकुमार बस्नेत । उनी भन्छन्– कसैको इच्छा विपरीत अनावश्यक रुपमा बाटामा, टोल र चौकमा गरिने पूजाले खासै अर्थ राख्दैन त्यसमाथि झन् भड्किलो हुने गरी कोलाहलपूर्ण वातावरणमा गरिने पूजा विकृत्ति नै हो ।
शरद ऋतुको सुन्दर आगमनसँगै केरा, अम्बा जस्ता रसिला फलफूल पाकेको अवस्थामा र किसानहरु खेती पाती सकेर नयाँ वाली भित्र्याउने अवस्थामा चलेको दशैं परम्पराप्रति कसैले औंला उठाउने ठाउँ छैन– समाजसेवी बस्नेतले भने– गरीब र धनीकाबीच दशंैले खाडल पारेको होइन, उत्ताउलो चिजको नक्कल गर्ने, सँस्कृतिको उज्यालो घाम छेक्न खोज्ने, हाम्रो मेलमिलाप देख्न नसक्ने आरिसे र डाढे प्रवृत्तिका छाडा र उत्ताउला चलनहरु र राम्रो भन्दै हाम्रो दशैंभित्र भित्र्याएका विकृतिहरु जसले दशैंको उज्यालो पक्षले छेक्न सक्नुपर्छ ।
सबैले दशैं मानांै, मेलमिलापको भावना कायम राखौं । हाम्रो जीवनशैली अनुरूपको दशंै मानौं, तामझाम गरेर दशैं मान्नुपर्छ भन्ने मान्यताको अन्त्य गरौं । यसरी दशंै पर्वले हिजैदेखि दिएका सन्देशहरू जीवित राखौं । आउँदो पुस्तालाई विगतको संस्कृति जस्तो थियो, त्यस्तै हस्तान्तरण गरौं भन्ने मान्यता राख्दा उचित होला भन्छन् समाजसेवी बस्नेत ।
उनीमात्र होइन समाजका अधिकांश अगुवाको भनाइ पनि यस्तै छ । भड्किलो दशैं मनाउने परिपाटीले समाजमा विकृति मौलाएर गएको प्रहरी उपरीक्षक विष्णुकुमार केसी बताउँछन् । उनी भन्छन्– चाडपर्वको समयमा हामीले सुरक्षा व्यवस्थामा समेत कडाइ गर्नुपर्छ । यदि सही तरिकाले दशैं मनाउने हो भने अपराधको मानसिकता उत्पन्न नै हुँदैन ।

प्राचीनकालदेखि मान्दै आएको पूर्वीय दर्शन अन्तर्गतको विशिष्ट आदिमकालदेखिको मातृ सत्ताको सम्झना गराउँदै, तिनीहरुको पराक्रमको गाथा गाउँदै आएको दशंै पर्वले ठोस् रुपमा नारी मुक्तिका आवाजहरु घनिभूत गर्नुपर्नेमा दशैंमा विकृति मौलाउँदै गएको छ– उनी भन्छन् ।

Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर