Aamsanchar

सहारा नेपाल प्रदेश नं.१ कै सबैभन्दा ठूलो सहकारी संस्था

Author Image
बुधवार, असोज ११, २०७४

बिर्तामोड।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) आर्थिक कारोबारको दृष्टिले प्रदेश नं. १कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको छ ।
शेयर सदस्यको हिसाबले भने सहारा नेपाल (साकोस) नेपालकै ठूलो संस्था हो । संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार आर्थिक वर्ष ०७४को असार मसान्तसम्म १ वर्षको अवधिमा ५ अर्ब २८ करोड ४२ लाख ५१ हजार ६ सय ५८ रुपैयाँ ९७ पैसाको कारोबार सहारा नेपाल (साकोस)मा भएको छ ।
यो कारोबार अघिल्लो वर्षको भन्दा १ अर्ब ४८ करोड ३१ लाख ६० हजार ६ सय १ रुपैयाँ ३१ पैसाले बढी हो । सहारा नेपाल (साकोस)ले ०७३ असार मसान्तसम्म एक वर्षको अवधिमा ३ अर्ब ८० करोड, १० लाख ९१ हजार ५७ रुपैयाँ ६६ पैसाको आर्थिक कारोबार गरेको थियो । सहारा नेपाल (साकोस)द्वारा आयोजित वित्तीय व्यवस्थापन सम्बन्धी तीन दिने तालिममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । मंगलबार सम्पन्न उक्त तालिम संस्थाको नाफा नोक्सान–वासलात हिसाबको विश्लेषणमा केन्द्रित थियो ।
सञ्चालक समितिसहित अधिकृतस्तरका कर्मचारी सहभागी कार्यक्रममा संस्थाले अझ उत्कृष्ट हुन सुधार गर्नुपर्ने पक्ष र अवलम्वन गर्नुपर्ने नीतिबारे समेत विस्तृत छलफल भएको थियो । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय कोषाध्यक्ष केशवप्रसाद पोखरेलले वित्तीय व्यवस्थापन तालिमको सहजीकरण गरेका थिए ।
संस्थाको पूँजी ५० करोड रुपैयाँ भन्दा बढी पुगेको छ । संस्थागत पूँजी बढी हुने सहकारी सक्षम मानिन्छन् । यो पूँजी वर्षेनि बढ्दो मात्रामा छ । सहारा नेपाल (साकोस)को शेयर सदस्य संख्या १ लाख १९ हजार २ सय ९७ पुगेको छ । त्यस्तै शेयर पूँजी ६२ करोड ३७ लाख ४७ हजार २ सय रुपैयाँ पुगेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।
१४ जिल्ला रहेको प्रदेश नं. १को ६ जिल्लामा सहारा नेपाल (साकोस)को कारोबार छ । अध्यक्ष सञ्जेलका अनुसार १ मुख्य कार्यालय, ४ इलाका र ५५ सेवाकेन्द्र मार्फत संस्थाले झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा सेवा प्रवाह गरिरहेको छ । संस्थाका कर्मचारी ४ सय जना छन् । ०७४ को असार मसान्तसम्म १ वर्षको अवधिमा संस्थाले २९ करोड ५३ लाख ६५ हजार ९ सय ३ रुपैयाँ ९२ पैसा मुनाफा आर्जन गरेको छ । यो करअघिको अवस्था हो ।
सहारा नेपाल (साकोस)ले सरकारलाई ५ करोड ५३ लाख ४३ हजार १ सय ३८ रुपैयाँ ९४ पैसा आयकर बुझाएको सचिव गिरीले जानकारी दिए । आयकर बुझाउने सहकारीमा पनि सहारा नेपाल (साकोस) अग्रणी दरिएको छ । करपछिको खुद नाफा २२ करोड २३ लाख ८ सय १० रुपैयाँ ७४ पैसा रहेको छ ।
सहारा नेपाल (साकोस)का सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी संस्था, शेयर, सदस्य र समुदायलाई सँगै अघि बढाउने नीति नै यो सफलताको मुख्य कारण भएको बताउँछन् । ‘इमान्दार सञ्चालक समितिको टिमवर्क, आर्थिक अनुशासन, दरिलो व्यवस्थापन, लगनशील र क्षमतावान कर्मचारी अनि सदस्यहरुको विश्वास यो सफलताका सारथी हुन्’ – सचिव गिरी भन्छन्– ‘स्पष्ट दूरदृष्टिसहितको कार्ययोजनाका साथ अघि बढेका कारण आज हामी यो ठाउँमा आइपुगेका हौं ।’
सामाजिक उत्तरदायित्वमा समेत वर्षेनि सहारा नेपाल (साकोस)ले करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । सदस्यहरुको सर्वोपरी हित तथा सामाजिक क्षेत्रको कार्यमा पनि संस्था अग्रणी देखिएको बताइन्छ । सहारा नेपाल (साकोस)सँग यसैवर्ष धुलाबारीस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. (हावस) समेत आवद्ध भएको छ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर