Aamsanchar

दशैंमा नेतालाई टिकटकै चटारो

Author Image
बुधवार, असोज ११, २०७४

(सन्तोष आर्चाय)

मेचीनगर।

आँगनमा दशैं छ । खर्च जोहो र किनमेलको चटारो पनि उस्तै छ । हुनेखानेदेखि हुँदा खानेसम्मलाई भ्याईनभ्याई छ । खसीबाख्रा बेचेर, मागेर वा ऋण काढेर भए पनि दशैं मनाउनै पर्ने परम्परागत बाध्यता छ ।
तर, नेताका मनमा भने दशैं भन्दा पनि चुनावी दौडाहा शुरु भएको छ । कुन बढी महत्वको हो भनेर एक जना टिकटाकांक्षीलाई सोध्दा उनले दशैं वर्षैपिच्छे आउने भएकाले पाँच वर्षमा आउने चुनाव ठूलो उत्सव हुने बताए ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएर मत परिणाम आउँदैछ । दास्रो चरणको सकिएको सय दिन पनि पुगेको छैन । चोकका चिया पसल, सरकारी अड्डाका गफी कर्मचारीहरु, फेसबुके प्रचार जताततै प्रदेश र संघको चुनावी चर्चा छ । प्रदेश र संघको निर्वाचनका लागि टिकटको दौडधुप शुरु भएको छ । केही नेताहरुले आफ्नो फेसबुक वालमार्फत उम्मेदवारी घोषणा गर्न थालेका छन् । केहीले कार्यकर्ता प्रयोग गरेर यस्तो प्रचार गर्ने गरेका छन् । केही उपल्लो तहका नेतासँगको भेटघाटमा व्यस्त देखिन्छन् । यस पालीको दशैं मान्यजन (नेता) बाट आशिर्वाद (टीकट) थाप्दैमा बित्ने जस्तो छ । टीका जमरा ग्रहण गर्दा पनि ‘टिकट प्राप्त गरेस्’, ‘विजय प्राप्त गरेस्’ जस्ता आशिर्वाद दिनुपर्ने भएको छ ।
संघ र प्रदेशको निर्वाचनका लागि झापाका सबै क्षेत्रमा चहलपहल र चर्चा परिचर्चा शुरु भएको छ । त्यसमध्ये झापा क्षेत्र नम्बर १ मा भने केही उम्मेदवारहरुले आफूलाई सार्वजनिक नै गरिसकेका छन् । आगामी मंसीर १० र २१ गते हुने भनिएको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको हो ।
झापा लगायतका जिल्लाहरुमा दोस्रो चरण अर्थात् मंसीर २१ गते संघ र प्रदेशको निर्वाचन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै नेताहरु टिकटको दौडमा देखिन्छन् । झापालाई साविक ७ वटा निर्वाचन क्षेत्रबाट समायोजन गरी ५ वटा बनाइएको छ भने प्रदेशसभा सदस्यका लागि १० वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

जस अन्तरगत झापा क्षेत्र नम्बर १ को साविक क्षेत्रमा साविक ज्यामिरगढी, साविक दुवागढी र साविक चन्द्रगढी (हाल भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १०) लाई समाबेश गरिएको छ । यसरी बनेको संघको निर्वाचन क्षेत्रलाई दुई भागमा विभाजन गरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र (क) र निर्वाचन क्षेत्र (ख) का रुपमा हाल चर्चा गरिएको छ । यसैबाट विभिन्न दलका नेता कार्यकर्ताहरुले आ–आफ्नो उम्मेदवारी दाबी गर्न थालेका छन् ।
नेकपा एमाले : पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेका नेता कार्यकर्ताहरुले निर्वाचन क्षेत्र नम्बर १ मा संघ र प्रदेशका लागि उम्मेदवारी आकाँक्षा देखाउन थालेका छन् । आकांक्षीहरुले नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट बाक्लो बनाउँदै लगेका छन् ।

बिगतमा संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सभाषद तथा रुपान्तरित व्यवस्थापिका संसदका सांसद रवीन कोइरालाले सोही स्थानमा निरन्तरता दिने वा नयाँलाई मौका दिने भन्ने छलफल भइरहेको बताएका छन् । तर, कोइराला निकट स्रोतका अनुसार उनी नदोहोर्याउने र सो स्थानमा केन्द्रबाट कसैलाई ल्याउने वा गोपाल बुढाथोकी र विष्णु प्रसाई मध्ये एकजनालाई तयार गर्ने भन्ने चर्चा पनि भइरहेको छ ।

यद्यपि बुढाथोकीले पार्टीको निर्णय मान्य हुने भएकाले आफ्नो व्यक्तिगत कुनै दाबी नरहेको बताएका छन् । यता प्रदेशका लागि भने धेरै नामहरु चर्चामा छन् । प्रदेशसभा सदस्यका लागि एमालेका नेता कार्यकर्ताहरुले केही नाम चर्चामा ल्याउन थालेका छन् । त्यसरी चर्चामा आएका नामहरुमा जिल्ला कमिटी सदस्य निलकण्ठ तिवारी, हरिचरण बानियाँ, श्रीप्रसाद मैनाली, डिल्लीराम घिमिरे, बन्धन मुण्डा, शारदा शर्मा, सविता भेटवाल, देवकुमार राई, लक्ष्मी राई, घनश्याम अधिकारी, रामचन्द्र उप्रेती, भीम खबास, हिमाल किराती, अर्जुन पौडेल, भूपाल शिवाकोटी, सुभद्रा अर्याल, अम्बिका खवास लगायत छन् । यी अधिकांश नामहरु हिजो स्थानीय तहको निर्वाचनमा पनि चर्चामा आएका थिए । त्यस मध्ये प्रदेश कमिटी सदस्य विष्णु प्रसाईले टिकट प्राप्त गरेका थिए ।
नेपाली कांग्रेस : क्षेत्र नम्बर १ अन्तरगतको मेचीनगर र बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर खण्ड यस निर्वाचन क्षेत्रभित्र पर्छ, जहाँ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यसका आधारमा हेर्दा यो क्षेत्रलाई नेपाली कांग्रेसले सुरक्षित क्षेत्रका रुपमा हेर्न थालेको छ ।

संविधानसभा निर्वाचनमा एमालेले जितेको भए पनि स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका नेता कार्यकर्ता यसपटक यो क्षेत्र जित्नेमा ढुक्क देखिन्छन् । संविधान सभा निर्वाचनमा पराजय व्यहोरेका कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माकै नाम यसपटक पनि चर्चामा छ । कांग्रेस स्रोतका अनुसार संघमा शर्माकै नाम अन्तिम हुने पक्का छ ।

हाल व्यवस्थापिका संसदमा समानुपातिकबाट प्रतिनिधित्व गरेकी सांसद उषा गुरुङले प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने बताएकी छन् । प्रदेशसभा क्षेत्र (क) बाट उनले आफ्नो उम्मेदवारी दाबी गरेकी छन् । ‘संघमा मैले छाडेपछि प्रदेशमा त कसो नहोला र’ सांसद गुरुङले पूर्वाञ्चलसँग कुराकानीका क्रममा भनिन्–‘मेरो योगदान र भूमिकाको पनि मूल्यांकन हुनेछ ।’ नेपाली का्रग्रेस झापाका उपाध्यक्ष राम कट्टेलले फेसबुकमार्फत केही समय अघि प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यसैगरी दुर्गाप्रसाद सापकोटाले पनि फेसबुकै प्रयोग गरेर उम्मेदवारी सार्वजनिक गरेका छन् ।
यसैबीच नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष केशबराज पाण्डेले एक पत्रिकामा धारणा सार्वजनिक गर्ने क्रममा आफू पनि उम्मेदवार बन्ने संकेत गरेका छन् । त्यस्तै धुलावारी क्याम्पस प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सदस्य पुष्पराज पौडेलले पनि आफ्नो दाबी रहने बताएका छन् । कानून व्यवसायी अशोककुमार पोखरेल, उद्योग बाणिज्य क्षेत्रमा काम गरेका नरेन्द्र खड्का, बिजय डालमिया, पंकजविक्रम नेम्वाङ, गोपाल तामाङ, तम्मर राई पनि उम्मेदवारी प्राप्त गर्ने दौडमा रहेका छन् ।
त्यसैगरी जिल्ला सचिव प्रेम सम्बाहाम्फे, ताराबीर कट्टेल, गोमा भट्टराई, भूमा घिमिरे, डम्बरकुमारी थापा, राधा कार्की, बिना तामाङ, लगायतको नाम चर्चामा रहेको छ । स्थानीय पार्टी कमिटीले एक महिला सहित तीन जनाको नाम माथिल्लो समितिमा सिफारिस गरी पठाउनेछ । सिफारिस भएका नामहरु मध्येबाट नै उम्मेदवारी तय हुने छ । उक्त नामहरु स्थानीय तहको निर्वाचनमा समेत चर्चामा थिए । यस मध्ये बिमल आचार्यले टिकट प्राप्त गरेर नगर प्रमुखमा निर्वाचित बनेका छन् ।
माओवादी केन्द्रः स्थानीय तहको निर्वाचनमा देशभरि तेस्रो भएको माओवादी केन्द्रले अब हुने निर्वाचनमा पनि सोही बमोजिमका आफ्ना स्थानहरु सुरक्षित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । माओवादी केन्द्रमा नेता कार्यकर्ता व्यवस्थापनको धेरै अप्ठेरो नभएकाले उसले पनि उम्मेदवारहरुको चर्चामा ल्याउन थालेको छ ।

माओवादी केन्द्रले संघको निर्वाचनका लागि प्रकाश भण्डारी, श्यामवीर लिम्बू, बोधराज दाहाल मध्ये एकले उम्मेदवारी प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ । त्यसैगरी प्रदेशसभा सदस्यका लागि माधव अर्याल, भेषराज काफ्ले, ज्ञानेन्द्र घिमिरे, राजन चिमरिया, नरेन्द्र मेचे लगायतका नाम चर्चामा रहेका छन् ।
राप्रपा : राप्रपाका तर्फबाट पनि उम्मेदवारका आकांक्षीहरुको चर्चा हुन थलेको छ । यसरी चर्चामा रहेकाहरु अशोक सुब्बा, सुशील आचार्य, कृष्णप्रसाद कट्वाल, ज्ञानबहादुर मगर, चन्द्र खनाल लगायत रहेका छन् । राप्रपा स्रोतका अनुसार यीनै नामहरु मध्येबाट उम्मेदवारी तय हुने छ ।
नयाँ शक्ति नेपाल पार्टी : नयाँ शक्ति पार्टीले यस निर्वाचन क्षेत्रका लागि यस अघि नै दुईवटा नाम सार्वजनिक गरिसकेको छ । पुष्पप्रसाद पौडेल र बीरबहादुर श्रेष्ठको नाम संघमा प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरिसकेकोे जनाएको छ । प्रदेशसभा सदस्यका रुपमा नामहरु तय गर्न बाँकी रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर