Aamsanchar

खोइँछ भर्ने विधि गरिँदै

Author Image
बिहिवार, असोज १२, २०७४

जनकपुरधाम,

बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत ‘खोइँछ’ भर्ने विधि गरिरहेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने महिलाहरुको परम्परा रहेको छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार यस पटक भगवतीको आगमन डोलामा र प्रस्थान कुखुरामा रहेको छ । डोलामा आगमन र कुखुरामा प्रस्थान रोगब्याधिले जनजीवनलाई प्रतिकूल अवस्था आउन सकिने सूचक मानिन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवी प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।

प्राध्यापक परमेश्वर कापडी खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिला खोइँछ भर्ने गरेको बताउनुहुन्छ ।

भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।

यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको सप्तमीका दिन आँखा उघार्ने विधि बेलको पातको डाँठबाट गर्ने चलन रहेको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर