काठमाडौं– आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको नीति अघि सारेर माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता नै गर्न कस्सिएपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । बाम तालमेल र एकता अभियान थालिए पनि माओवादी केन्द्रले मंसिरको निर्वाचनसम्म सरकारलाई अप्ठेरोमा नपार्ने भन्दै सरकारलाई साथ बताइरहेको छ ।

यता, बाम एकता अभियानमा नयाँ शक्तिसहितका दलहरु पनि सहभागी भएपछि कांग्रेसकै अगुवाईमा लोकतान्त्रिक गठबन्धन बनाउने काम प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । तर गठबन्धनले मूर्त रुप भने पाउन सकेको छैन । आफ्नो गठबन्धन बलियो नहुँदै देउवा भने माओवादी मन्त्रीहरुलाई नै बर्खास्त गर्ने योजनामा रहेका छन् ।
विपक्षी गठबन्धनमा गइसकेपछि सरकारमा बस्नुको औचित्य नहुने भन्दै कांग्रेस वृत्तले माओवादीलाई सरकारबाट बाहिरिन नैतिक दबाब दिइरहेको छ भने देउवा स्वयं माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न कानूनी उपाय खोज्दै हिडेका छन् ।

पार्टी निकट कानूनविद्हरुसँग सल्लाह लिएका देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवलाई समेत भेटेर माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको स्रोतले बताएको छ । ‘माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? भनी प्रधानमन्त्री देउवाले प्रमुख आयुक्तसँग सोधेका थिए’, स्रोतले भन्यो, ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कानूनी अड्चन आउने आयोगले सुझाव दिएको छ ।’
तत्कालिन संसदलाई विघटन गरी नेपालको राजनीतिमा कालो धब्बा बनेको छ, देउवाको इतिहास । त्यो इतिहास देउवाको भूल भएको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्रीको साँचो सुम्पिने क्रममा ब्यवस्थापिका संसदमा भनेका थिए । तर त्यस्तै संक्रमणकालिन अवस्था निम्त्याएर आगामी मंसिरको निर्वाचन नै प्रभावित पार्ने देउवाको योजना रहेको आलोचकहरु बताउँछन् । त्यसैका लागि प्रधानमन्त्री देउवाले माओवादीलाई सरकारबाट हटाउन हरदम प्रयत्न गरिरहेको स्रोत बताउँछ ।

