Aamsanchar

बिर्तामोडमा डेंगूका बिरामी बढे

Author Image
शनिवार, असोज २१, २०७४

बिर्तामोड।

बिर्तामोडमा डेंगू रोगका बिरामी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् । बिर्तामोडका प्रत्येक अस्पतालमा डेंगूका बिरामी भर्ना हुन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन् ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगू रोगीको संख्या बढेपछि सर्वसाधारणले सम्बन्धित निकाय जनस्वास्थ्य कार्यालय र नगरपालिकालाई लामखुट्टे नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन् । बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा दशैंयता मात्रै २० जनाभन्दा बढी डेंगू रोगीको उपचार भएको छ ।
अहिले पनि १० जनाको उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिलकुमार बस्नेतले जानकारी दिए । केहीमा प्लेटलेटको मात्रा कम देखिएको र ज्वरो आउने, मांसपेशी दुख्ने समस्या लिएर आएका अधिकांशमा डेंगू देखिएको उनले बताए । उपचार गरेर केही घर फर्किएका छन् भने केही अझै अस्पतालमा उपचाररत् रहेको उनको भनाइ छ ।
त्यस्तै मनमोहन अस्पतालमा पनि डेंगूका रोगी त्यतिकै मात्रामा रहेका छन् । डेंगूको उपचारका लागि भर्ना भएका बिरामीमध्ये तीन जनाको उपचार सम्भव नभएपछि धरान रेफर भएको अस्पतालका चिकित्सक डा. प्रदीप केसीले बताए । दुई दिनअघि भर्ना भएका बिर्तामोड–१ का रवीन शाक्यका अनुसार अस्पतालमा अधिक मात्रामा डेंगूका रोगी आउने गरेका छन् । उनीसँगै उपचारका लागि बिर्तामोड–५ का शम्भु चौधरी पनि डेंगू रोगका कारण अस्पतालमा उपचाररत् रहेका छन् ।
उता बीएण्डसी हस्पिटलमा एकजनामा डेंगू रोग भएको पुष्टि भएको र अन्य एकमा पनि शंकास्पद लक्षण देखापरेकाले परीक्षण भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
मेची अञ्चल अस्पतालमा समेत डेंगूका रोगी उपचारका लागि भर्ना भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । उनले दुईदिनमा तीन जना बिर्तामोडका बिरामी अस्पतालमा भर्ना भएको बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख डा. मधुसुधन कोइरालाले बिर्तामोडसहित दमकमा डेंगू रोगी फेला परेको बताएका छन् । डेंगू रोग नियन्त्रणका लागि कार्यालयले यही साताभित्र काम शुरु गर्ने भने पनि किट अभावमा तत्काल काम गर्न नसकिएको जनाएको छ । बजेट बाँडफाँडका कारण स्थानीय निकायमा बजेट गएकाले पनि बजेट अभावमा काम प्रभावकारी रुपमा अघि बढाउन नसकिएको डा. कोइरालाले बताए । किट र बजेट माग गर्दै बुधबार मात्रै मन्त्रालयमा पत्राचार गरेको डा. कोइरालाको भनाइ छ ।
यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिर्तामोडमा मात्रै डेंगू रोगीको संख्या एक सयभन्दा बढी रहेको बताएका छन् । बिर्तामोडका अस्पतालसहित भारतको शिलगढीका विभिन्न अस्पतालमा उपचारका लागि बिरामी गएको उनले बताए । शिलगढीमा उपचारका लागि गएका सातजना बिर्तामोडकै भएको अध्यक्ष भट्टराईको भनाइ छ । उनले डेंगू रोग नियन्त्रणका लागि तत्काल सम्बन्धित निकायले ध्यान पुर्याउन माग गरेका छन् ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर