बिर्तामोड।

झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणले सडक संघर्षको रुप लिएको छ ।प्रहरीले हत्याका अभियुक्तलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले हत्या प्रकरणलाई सडक संघर्षको रुप दिएका हुन् ।
गत असोज १४ गते विजया दशमीको दिन बिर्तामोड–५स्थित सुधिर पोखरेलको घरमा मनिष थापाको जुत्ता लिन गएका लक्ष्मण १५ गते बिहान बिर्तामोड नगरपालिका–१ बैशाबाडी नजिकैको खाल्डोमा जमेको पानीमा शंकास्पद अवस्थामा मृत भेटिएपछि पोखरेल परिवारबिरुद्ध शिवाकोटी परिवारले बालकको हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी दिँदा पनि प्रहरीले प्रभावकारी काम नगरेको आरोप लगाउँदै मृतकका परिवार र सर्वसाधारण आइतवार सडक संघर्षमा उत्रिएका हुन् । दोषीलाई कारवाहीको माग गर्दै न्याय प्राप्तिका लागि आफूहरु सडकमा उत्रिएको उनीहरुले बताएका छन् । मृतकका आफन्त र सर्वसाधारणले आइतबार इलाका प्रहरी कार्यालय पुनः घेराऊ गरेका छन् । उनीहरुले दिनभर जसो इलाका प्रहरी कार्यालय घेराऊसँगै आरोपित परिवार र प्रहरी विरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले नारावाजीका क्रममा प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालमाथि आक्रोश समेत पोखे । घटनालाई डीएसपीले नै तोडमोड गर्न खोजेको भन्दै उनलाई समेत विभागीय कारवाहीको माग गरेका छन् ।
लक्ष्मण अध्ययनरत् विद्यालय हिमाल बोर्डिङ स्कूलका विद्यार्थीले समेत हत्यारालाई कानूनी कारवाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग एकघण्टा चक्काजाम गरे । इलाका प्रहरी कार्यालयको प्रवेशद्वार अगाडि मूल सडकमा गरिएको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग एकघण्टा अवरुद्ध बन्यो ।
विद्यार्थीले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, हत्यामा संलग्न हत्यारालाई अबिलम्व पक्राउ गरी कारवाही गरिनुपर्ने, हत्यामा संलग्न भनिएकाहरुलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थालिनुपर्ने लगायतका माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
आरोपित पोखरेल परिवारविरुद्ध मात्र केन्द्रित मृतकका परिवार र सर्वसाधारणको आक्रोश प्रहरीबिरुद्ध पनि खनिएपछि सडकमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको थियो । हत्यारालाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पुगेर सर्वसाधारणले डीएसपीका बिरुद्ध नाराबाजी गर्न थालेपछि इलाका प्रहरी कार्यालयको मूल गेटबाट सर्वसाधारणलाई दिनभर भित्र पस्न दिइएको थिएन् । घटनाले आन्दोलनको मोड लिएपछि सशस्त्र प्रहरी बलको समेत उपस्थिति रह्यो ।

शनिश्चरेबाट आएको सशस्त्र प्रहरीले भीड नियन्त्रण गर्न मद्दत गरेको थियो । इलाका प्रहरी कार्यालयका डीएसपीबिरुद्ध सर्वसाधारण खनिएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) जीतेन्द्र वस्नेत नेतृत्वको टोली विवाद साम्य पार्न इलाका प्रहरी कार्यालय आएको थियो ।
सर्वसाधारणले प्रहरीले बालक हत्या प्रकरणको अनुसन्धानमा बेवास्ता गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडको काम कारवाहीप्रति समेत प्रश्न उठाएका थिए । डीएसपी सिलवालकै दवाबका कारण प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टलाई बालक हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दर्ता गर्न खोज्दा किटानी जाहेरी दर्ता गर्न रोकेको आरोप लगाएका छन् । स्रोतका अनुसार शिवाकोटी परिवारले पोखरेल परिवार विरुद्ध किटानी जाहेरी गर्न आउँदा प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टको मोवाइल मार्फत फोन गर्दै मृतकका काका विष्णप्रसाद शिवाकोटीलाई किटानी जाहेरी नगर्न दवाव दिएका थिए । उनको दवावका कारण किटानी जाहेरी गर्न आउँदा समेत शिवाकोटी परिवारले सहजै किटानी जाहेरी दर्ता गर्न नसकेको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले जनाएको असन्तुष्टि सडकमा पुगेपछि यात्रुले समेत आइतबार केही वेर सास्ती व्यहोरेका थिए । सडकमा सवारी जाम भएपछि सर्वसाधारणले सास्ती व्यहोरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी शिलवालले शंकास्पद अवस्थामा बालकको शव भेटिएपछि अनुसन्धानलाई तीव्र बनाइने १५ गते नै बताएपनि अनुसन्धानको समयमा उनी बिदा बसेको भन्दै सर्वसाधारणले उनको काम कारवाही प्रति असन्तुष्टि जनाएका थिए । मुख्य अनुसन्धान गर्ने समयमा उनी बिदामा वसेको भन्दै डीएसपी सिलवालमाथि पनि सर्वसाधारणले आक्रोश पोखेका थिए ।
हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सडकमा उत्रिएका सर्वसाधारण र मृतकका आफन्तले हात–हातमा प्लेकार्ड लिएर आइतवार बिर्तामोड नगर परिक्रमा गरेका थिए । बिर्तामोड परिक्रमापछि इलाका प्रहरी कार्यालयमा पुगेर उनीहरुले प्रहरीबिरुद्ध चर्का नाराबाजी गरेका थिए । कसैको उक्साहटमा लागेर प्रहरीले बालकको मृत्युलाई भवितव्य बनाउँदै हत्यारालाई उन्मुक्ति दिन खोजेको नाराबाजीका क्रममा उनीहरुले आरोप लगाएका थिए ।
लक्ष्मण अध्ययनरत् विद्यालयकी प्रिन्सिपल शान्ता गिरीले बिद्यालयको असल छात्रको शंकास्पद अवस्थामा शव भेटिएको खबरले सिंगो बिद्यालय परिवार शोकमग्न भएको बताउँदै घटनाको सत्यतथ्य बाहिर ल्याइदिन प्रहरी समक्ष माग गरेकी छिन् । प्रिन्सिपल गिरीले अप्रत्यासित रुपमा लक्ष्मणको मृत्युसँगै विद्यालयका सारा विद्यार्थी सशंकित बनेकाले विद्यार्थीलाई भयरहीत वातावरणमा पठनपाठनको व्यवस्था मिलाइदिन प्रहरी, राजनीतिककर्मी, मानवअधिकारकर्मी र सम्बन्धित सरोकारवालासँग माग गरेकी छिन् ।
विद्यार्थीले साथीको मृत्यु भएको भन्दै स्वतःस्फूर्त रुपमा निकालेको र्यालीमा सहभागी भएकी प्रिन्सिपल गिरीले आफ्ना एक होनाहार विद्यार्थी गुमेको बताउँदै अन्य विद्यार्थीको समेत सुरक्षाको माग गरेकी छिन् । स्थानीयबासी र मृतकका आफन्तको पटक–पटकको दवाबपछि मात्र आरोपित पाखेरेल परिवारका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिनु आश्चर्य भएको बताउँदै रोजिना पाण्डेले प्रहरीले सत्य–तथ्य पत्ता लगाउन र दोषीलाई उन्मुक्ति दिन खोजे जस्तोसुकै सडक संघर्षका कार्यक्रम गर्न आफूहरु पछि नहट्ने बताएकी छिन् ।
वलक हत्याको अनुसन्धान गर्न प्रहरीले जति ढिलासुस्ती गर्यो त्यति नै न्यायिक संघर्षको आन्दोलन लम्बिने र आन्दोलनले नयाँ मोड लिँदै जाने उनले बताइन् ।
हत्या प्रकरणलाई ढाकछोप गर्न डीएसपी सिलवाल ५ दिन लामो बिदा बसेको आरोप छ । स्रोतका अनुसार स्थानीयबासीको दवाब झेल्न उनी पाँच दिनको बिदा बसेका हुन् । यसअघि पनि विवादित घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्नुपरेमा कार्यालय प्रमुख बिदा बस्दै आएका थिए । घटना साम्य भएपछि मात्र इञ्चार्ज कार्यालयमा हाजिर हुने परिपाटी बिर्तामोडका लागि नौलो होइन । यसअघि कार्यरत् इञ्चार्ज पनि त्यसैगरी बिदामा बस्ने गरेका थिए । प्रहरी निरीक्षकलाई जिम्मेवारी सुम्पिएर कुनै पनि घटनाको विवाद नसुल्झिएसम्म इञ्चार्ज बिदामा नै बस्दै आउने गर्थे । सिलवाल पनि स्थानीयबासीको दवाव झेल्न नसक्ने भएपछि विदामा बसेको स्रोतले जनाएको छ ।
जता जान्छन् सिलवाल उतै विवादित
गत असोज ९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी नायव उपरीक्षक सिलवाल झापामा मात्र विवादमा परेका होइनन् ।
उनी यस अघिपनि विवादमा मुछिँदै प्रहरी संगठनमा निलम्बित समेत भएका थिए । सरुवा भएर झापा आउनासाथ बिर्तामोडमा हुने यौनजन्य क्रियाकलाव निस्तेज पार्न उनले ‘अप्रेशन’ शुरु गरेका थिए । ‘अप्रेशन’का क्रममा उनले धेरैलाई कारवाही समेत चलाए भने केहीलाई मानव वेचविखन विरुद्धको मुद्दा दायर गरे ।

होटलमा खाजा खान गएकालाई पनि यौन जन्य क्रियाकलापमा सम्लग्न भएको भन्दै सार्वजनिक मुद्दा चलाउन थालेपछि उनी यस अघि नै विवादमा मुछिएका थिए । तर, उनीबिरुद्ध कसैले पनि खुलेर बिरोध गर्न सकेका थिएनन् । स्रोतका अनुसार डीएसपी सिलवाल मातहतका प्रहरी नै रुष्ट छन् । अझ, बालक ‘हत्या’ प्रकरणको आन्दोलन चर्किएपछि उनी विदामा बसेपछि डीएसपी सिलवाल विवादमा होमिएका हुन् ।
यसअघि डीएसपी सिलवाल प्रहरीको आचरण र अनुशासन विपरीत काम गरेको भन्दै निलम्बनमा परेका थिए । महानगरीय प्रहरी बृत्त कमल पोखरीमा मदिरा सेवन गरी कर्मचारीमाथि कुटपिट गरेको भन्दै जाहेरी दर्ता गरेपछि उनीमाथि छानविन गरिएको थियो । छानविनपछि दोषी देखिएका डीएसपी सिलवाललाई तत्काल निलम्बन गरिएको थियो । निलम्बनमा परेका डीएसपी सिलवालले राति दलबलसहित काठमाडौं प्लाजास्थित रहेको टाइम्स क्लबमा पुगेर मदिरा सेवन पश्चात खाएको बिलसमेत नतिरिहिँड्न खोज्दा विवाद उत्पन्न भएको थियो ।
कर्मचारीले बिल तिर्न आग्रह गरेपछि डीएसपी सिलवाल र उनको समूहले क्लबका कर्मचारीमाथि जाइलागेका थिए । कुटपिट हुँदा दुवैतर्फका ब्यक्ति घाइते भएका थिए । कम्पनीको तर्फबाट कमलपोखरी बृत्तमा परेको जाहेरी फिर्ता लिन डीएसपी सिलवालले दबाब दिएता पनि पनि पीडित पक्ष नमानेपछि उनको समूहले ज्यान मुद्दा दर्ता गरेको थियो ।
दरबारमार्ग बृत्तमा हुँदा समेत विवादमा तानिएपछि उनलाई कारवाही स्वरुप त्यहाँबाट तत्काल हटाइएको थियो ।डीएसपी सिलवाललाई तत्कालीन प्रहरी महाननिरीक्षक उपेन्द्रकान्त अर्यालले घटना भएको भोलिपल्ट निलम्बन गरेका थिए । सो समयमा डीएसपी सिलवालमाथि छानविन गर्न डीआईजी मधु पुडासैनीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । डीएसपी सिलवालले पेस्तोल देखाएर तर्साउन खोजेपछि रेस्टुरेन्टका बाउन्सरले समातेर कमलपोखरी वृत्तको जिम्मा लगाएका थिए ।
दुवै पक्षको हानाहानबाट घाइते भएका डीएसपी सिलवाललाई कमलपोखरीको प्रहरी टोलीले राति पौने दुई बजे उद्धार गरेर हिमाल हस्पिटलमा पु¥याएको थियो । सो समयमा उनको जिब्रोमा आठ टाँका लगाइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी आचरण विपरीत काम गरेको ठहर गरेपछि उनलाई निलम्बन गरिएको थियो । तत्कालीन आइजीपी अर्यालको अत्यन्त निकट मानिने डीएसपी सिलवाल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका घुमुवा समेत थिए ।
२०६५ सालमा ठमेलको फायर क्लबमा बिल तिर्न अटेर गरेका कारण त्यसबेला पनि उनी बाउन्सरबाट कुटिएका थिए । पटक–पटक विवादमा आइरहने डीएसपी सिलवाललाई प्रहरी नेतृत्वले नै संरक्षण दिइरहेका कारण उनी कारबाहीबाट बच्दै आएको प्रहरी स्रोतले बताएको छ ।

