बिर्तामोड।
समाजमा उत्पन्न हुने साना–ठूला द्वन्द्व न्यूनिकरणका लागि मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बताइएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा बिर्तामोडमा आइतबारबाट शुरु भएको सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम उद्घाटन समारोहमा सो कुरा बताइएको हो ।
कार्यक्रममा मेलमिलापकर्ताहरुलाई ज्ञानसिपको समेत उत्तिकै आवश्यकता रहेको औल्याइयो । आठ दिने उक्त तालिमको उद्घाटन बिर्तामोडका मेयर ध्रुव शिवाकोटीले गरे । उनले समुदायमा देखिएका द्वन्द्वलाई दीगो रुपमा व्यवस्थापन गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
शिवाकोटीले तालिमपछि तयार हुने मेलमिलापकर्ताबाट समाजमा हुने द्वन्द्व न्यूनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, राष्ट्रिय स्रोतव्यक्ति रमिला हुमागाई लगायतले बोलेका थिए ।
झापामा पहिलोपटक आयोजना गरिएको तालिममा जिल्लाका झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिकाका माकुरा समूहका प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता रहेको छ ।
तालिम लिएपछि उनीहरु स्वीकृत प्राप्त मेलमिलाप कर्ता हुने अर्थात् उनीहरु ‘गाउँका वकिल’ बन्ने स्रोतव्यक्ति संगीता थापाले बताइन् । माकुराले समुदायमा देखिएका विवाद व्यवस्थापनमा संयोजनकारी भूमिका खेल्ने बताइएको छ ।
झापामा बिशेषगरी जमिनसम्बन्धी विवाद रहेको र कतिपय विवाद रुपान्तरण भएको केन्द्रले जनाएको छ । केन्द्रले हाल मेचीनगर, कनकाई, कचनकवलमा देखिएका जमिनसम्बन्धी विवादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण अभियानका सहर्जकर्ता कुमार पौड्यालले जानकारी दिए । केन्द्रका झापा सहजकर्ता हिमा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहजकर्ता मानबहादुर कार्कीले गरेका थिए ।