Aamsanchar

अर्जुनधारामा अल्टरनेट होप स्कूल

Author Image
सोमवार, असोज २३, २०७४

बिर्तामोड।

विद्यालय जाने उमेर समूह पार गरेका बालबालिकाहरुलाई शिक्षासहित मनोरञ्जन प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–११ इन्दिरा आमा देउनिया बस्तीमा अल्टरनेट होप स्कूलको स्थापना गरिएको छ ।
बन्दी सहायता नेपाल र एसोसिएसन कल्चर असोका र हेलीब्रेटेड इटालीको संयुक्त सहयोगमा अल्टरनेट होप स्कूलको भवन निर्माण गरिएको हो ।
उक्त भवनको उद्घाटन एसोसिएसन कल्चर असोका र हेलीब्रेटेड इटालीका पोइट्रो ज्ञानेटी, मारिया ज्ञानेटी, बिजो, रेमिजो, बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगर, बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगतबहादुर मगर, गायक हस्त परियारले संयुक्तरुपमा गरेका थिए ।
११ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा एसोसिएसन कल्चर असोका र हेलीब्रेटेड इटालीले ८ लाख र बन्दी सहायता नेपालले ३ लाख ८० हजार सहयोग उपलब्ध गराएको बताइएको छ ।
विद्यालय जाने उमेर भएर पनि विभिन्न कारणले विद्यालय जान नपाएका बालबालिकाहरुलाई उनीहरुको खाली समयलाई सदुपयोग गर्दै शिक्षासहित मनोरञ्जन दिलाउने उद्देश्यले विद्यालयको स्थापना गरिएको बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले बताइन् ।
झापामा पहिलो पटक त्यस्तो विद्यालयको स्थापना गरिएको बताउँदै उनले विद्यार्थीहरुलाई अक्षर चिनाउने, खेलकुद तथा विभिन्न मनोरञ्जनका साधनद्वारा मनोरञ्जन प्रदान गर्ने बताइन् । संस्थाका पूर्वाञ्चल संयोजक जगतबहादुर मगरले बालबालिकाहरुलाई अध्ययनका लागि पुस्तक, फर्निचर अन्य संस्थाहरुले प्रदान गरेको बताए ।
कार्यक्रममा एसोसिएसन कल्चर असोका र हेलीब्रेटेड इटालीका पोइट्रो ज्ञानेटीले घर खर्चबाट रकम काटेर विद्यालय निर्माणमा सहयोग गरेको बताए । उनले आफूहरुले प्रदान गरेको सहयोगको सही सदुपयोग गरेको भन्दै बन्दी सहायता नेपाललाई धन्यवाद समेत दिएका थिए ।
त्यस्तै एसोसिएसन कल्चर असोका र हेलीब्रेटेड इटालीको सहयोगमा बन्दी सहायता नेपालले जिल्ला कारागार चन्द्रगढीमा रहेका महिला कैदीबन्दीहरुलाई माटोका सामग्री निर्माण गर्ने मेसिन प्रदान गरेको बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले जानकारी दिइन् । कार्यक्रममा पासाङ फोम्बो शेर्पा, सार्के शेर्पा, सरोज काफ्ले लगायतको आतिथ्य रहेको थियो ।
४० हजार मूल्य बराबरको मेसिन प्रदान गरेको बताइएको छ । संस्थाका पूर्वाञ्चल संयोजक जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रञ्जित परियारले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर