Aamsanchar

सिटौलाले क्षेत्र छाडेको हल्ला निराधारः कांग्रेस

Author Image
बुधवार, असोज २५, २०७४

बिर्तामोड।

झापा क्षेत्र नम्वर ३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ ।
झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएका हुन् ।
उनले पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले झापा क्षेत्र नम्वर ३बाट नै प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने दावी गरे ।कांग्रेस पूर्वमहामन्त्री सिटौलाले पत्रकारसँग कुरा गर्दै गठवन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको वैठकले झापाको क्षेत्र नम्वर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए ।
कांग्रेसका उम्मेदवार छनौट गर्ने र टिकट वितरण गर्ने संसदीय वोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरे ।२०५० सालको उपनिर्वाचन, २०५६को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्वर ३ बाट लगातार ३ पटक निर्वाचित भएका थिए ।
संविधान मस्यौदा समितिको सभापति भई लोकतान्त्रिक संविधान निर्माणमा योगदान दिएका सिटौला परिर्वतनकारी नेपाली जनताका माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको भूमिका र स्थानीय विकास निर्माणमा केन्द्रीय स्तरका योजना पारेर समग्र झापाको विकासमा सिटौलाले पु¥याएको योगदानलाई यहाँका जनताले भुल्न नसक्ने ३ नम्वर क्षेत्रीय सभापति गणेश पोखरेलले बताएका छन्।
सिटौलाले लगातार चुनाव जित्दै आएको झापा क्षेत्र नम्वर ३बाट आगामी मंसीर २१ गते हुने संसदको चुनावमा सिटौला उम्मेदवार नबन्ने हल्ला चलाइएपछि झापामा राजनीतिक तरङ्ग पैदा भएको छ ।
झापा कांग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदाताहरुलाई अपिल पनि गरेको छ ।सिटौलालाई कांग्रेस ३ नम्वर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्वर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।
को हुन् लिङ्देन ?
पञ्चायत कालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमार्फत विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री छन् । २०६१ मघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनित भएका थिए ।
२०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र ३बाट तत्कालीन कांग्रेस महामन्त्री सिटौलासँग नौ हजार मत ल्याएर लिङ्देन निकटतम् प्रतिष्पर्धीका रुपमा एमालेलाई पछि पार्दै स्थापित भएका थिए ।
भ्mापा जिविसको मनोनित सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम् बजेट विनियोजन गराएका कारण लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । राप्रपा महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्वर ३बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

को हुन् पुष्प ?
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेलिनवादी (माले) बाट राजनीति प्रारम्भ गरेका पुष्प पोखरेल भद्रपुर नगरपालिकाको मेयर हुँदै २०५१को मध्यावधी निर्वाचनमा झापा क्षेत्र नम्वर ३बाट प्रतिनिधिसभा सांसदमा चुनाव जितेका थिए । पोखरेल सो क्षेत्रका मतादाताका बीच परिचित छन् ।
प्रायःजसो नेपाली कांग्रेस र नेकपा एमालेका बीच कडा प्रतिष्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७०को संविधानसभाको निर्वाचनमा भने नेकपा एमाले तेस्रो स्थानमा झरेको थियो । पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर