Aamsanchar

ब्यस्त बजारबाट दिनदहाडै चोरी प्रहरीले पत्तो पाएन्

Author Image
शुक्रवार, असोज २७, २०७४

बिर्तामोड।

बिर्तामोडको सुरक्षा व्यस्थालाई ठाडो चुनौति दिँदै दिनदहाडै विहीवार पेस्तोल देखाएर सुन पसल लुटिएको छ । बिर्तामोडस्थित अष्टलक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश वराइलीलाई कञ्चटमा पेस्तोल देखाएर तीन वटा सिक्री र एउटा औंठी लुटिएको हो ।

पसल लुटेपछि लुटेराले हरियो रंगको ‘अन टेष्ट’ पल्सर प्रयोग गरेर पश्चिमतर्फ भागेको बताइएको छ । इलाका प्रहरी कार्यालयबाट पाँच सय मिटर हाताभित्रै दिनदहाडै पेस्तोल देखाएर पसल लुटिएपछि बिर्तामोडका व्यवसायी त्रसिद् बनेका छन् ।
सुन किन्न आउने वहाना बनाएर सुन पसल छिरेका लुटेराले सिक्री र औंठी किन्न भन्दै मागेका थिए । सिक्री र औंठी राजेशकी श्रीमतीले ती लुटेरालाई देखाएकी थिइन् । लुटेराले सिक्री र औंठी हातपारेपछि भिरेको व्यागमा राखेको र पेस्तोल झिकेर हल्ला गरे ‘सुट गर्छु’ भन्दै पश्चिमतर्फ भागेको बराइलीले बताए । पसल लुट्न मोटरसाइकलमा ती लुटेरा एक्लै आएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा राखिएको सीसी क्यामेराको फुटेज हेर्दा लुटेराले पसल लुटेर हिँड्दा छेउछाउमा कतै सुरक्षाकर्मी देखिँदैनन् । व्यापारिक दृष्टिकोणले बिर्तामोडलाई सुरक्षित मानिँदै आए पनि दिनदहाडै पेस्तोल देखाएर पसल लुटिएपछि बिर्तामोडको सुरक्षा व्यवस्थामा चुनौति थपिएको छ । झन् बिर्तामोडको नेतृत्व सम्हाल्न प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाल आएपछि यहाँको सुरक्षा व्यवस्था फितलो भएको आरोप छ ।

यसअघि बिर्तामोडको मुक्तिचौक आसपासमा हरसमय प्रहरी परिचालन हुने गरेको थियो । चार्ड पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुद बनाइने परिपार्टी भएपनि राजकुमार सिलवाल आएपछि प्रहरी संगठनमा नै खैलावैला मच्चिएको छ । संगठनभित्रै खैलावैला मच्चिएपछि शान्ति सुरक्षामा चुनौति थपिएको प्रहरीहरुले नै बताएका छन् । जसको फलस्वरुप दिनदहाडै पसल लुटिएको बताइन्छ ।
सुरक्षा व्यवस्था फितलो भएका कारण पसल लुटिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सुरक्षा जस्तो संवेदनशील विषयमा पनि प्रहरी चनाखो नभएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रहरीको कार्यशैलीमाथि टिप्पणी गर्दै अगाडि भने– प्रहरीका आँखै अगाडि यसरी पेस्तोल देखाएर पसल लुटिन्छ भने ओल्टे कोल्टे ठाउँका व्यवसायीले कसरी भयरहीत वातावरणमा काम गर्ने ।
दिनदहाडै प्रहरीकै आँखा अगाडिबाट यसरी पसल लुटिँदा पनि प्रहरी रमिते झैं भएको छ– अध्यक्ष भट्टराईले भने– यहाँको सुरक्षा व्यवस्था फितलो छ, यसलाई चुस्त बनाइएन भने अरु व्यवसायीहरुमाथि पनि हमला हुने निश्चित छ । तसर्थ यहाँको सुरक्षा ब्यवस्था तत्काल कडा बनाइनुपर्छ । लुटपाटमा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीका लागि उनले प्रहरी प्रशासन समक्ष जोडदार माग गरेका छन् ।
एकपछि अर्काे घटना दिनहुँ घट्दा समेत प्रहरी रमिते मात्रै बनेको भन्दै सर्वसाधारणले समेत प्रहरीको कार्यशैलीप्रति आक्रोश पोखेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले मुक्ति चौकमा समेत सुरक्षा व्यवस्था चुस्त बनाउन नसकेपछि व्यवसायीले खुलेर प्रहरी नायव उपरीक्षक सिलवालप्रति बिरोध जनाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले यो घटना निन्दनीय भएको र सुरक्षा व्यवस्था कमजोर हुँदा दिउँसै पसल लुटिएको भन्दै सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरेका छन् ।
सुनचाँदी व्यवसाय संघ झापाले पनि घटनाको निन्दा र भत्र्सना गरेको छ । जतिसक्दो चाडो लुटेर प्रहरीले पक्राउ गरेर सार्वजनिक नगरे आफूहरु व्यवसाय बन्द गरेर सडकमा उत्रने उनीहरुको चेतावनी छ । संघका अध्यक्ष राजु धमलाले व्यवसायी असुरक्षित महशुस गरेको पटक–पटक जानकारी गराउँदा समेत प्रहरी रमिते बनेको भन्दै आक्रोश पोखेका छन् । बिर्तामोडको मुक्तिचौकमा पनि ट्राफिक प्रहरीले मात्रै मोनिटरिङ गरिरहेको र जनपथ प्रहरी परिचालन नहुँदा समस्या उत्पन्न भएको बताइएको छ ।
यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले लुटपाटमा संलग्नको खोजी भइरहेको बताएका छन् ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर