सुरुङ्गा ।
दुर्घटना स्थलमा बेवारिसे रुपमा भेट्टाएको नगद ५ लाख ४० हजारसहित एक थान मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी जवान अमृत ठान्दारले गत असोज २१ गते कनकाई नगरपालिका–३ सुरुङ्गामा भएको दुर्घटना स्थलमा उक्त रकम र मोबाइल भेटेका थिए । असोज २१ गते बिहान ना ६ ख ७८६४ नम्बरको यात्रुबाहक बस र मे१त ५१०९ नम्बरको ट्याक्टर सुरुङ्गा चौकमा एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको थियो ।
बसमा सवार ढोरपाटन नगरपालिका–६ बुर्तिवान वाग्लुङका मानबहादुर कुमाई पुन घाइते भएका थिए । घाइते पुनले बेहोसीमा नगदसहितको सो झोला झ्यालबाहिर फ्याँकेका थिए । दुर्घटना पछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी जवान अमृत ठान्दारले सो रकमसहितको झोला प्रहरी कार्यालयमा बुझाएका थिए ।
उपचारपछि घाईते झोलाधनी आत्तिँदै सुरुङ्गामा झोला खोज्न आएका थिए । प्रहरीले झोलाधनीको खोजी गर्दै टिकट काउन्टर काँकरभिट्टासम्म पुगेको थियो । दुर्घटनाको ६ दिनपछि बिहीबार विशेष कार्यक्रमकाबीच सो रकम पुनलाई हस्तान्तरण गरिएको हो । नगद हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रदीपकुमार सिंह क्षेत्रीले प्रहरीले भेटिएको रकम सम्बन्धित धनीलाई जिम्मा लगाएर कर्तव्यपालना गर्न पाएको भन्दै खुशी व्याक्त गरे ।
कार्यक्रममा वार्ड नं. ३का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, सम्बन्धित नगद धनी मानबहादुर कुमाई पुन, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।