झापा।

नेपाल परिवार दलका झापा अध्यक्ष जीवन पनेरुको नाम मेचीबाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएको छ ।
४बटै जिल्ला कमिटीको बैठकले एकमात्र नाम केन्द्रमा सिफारिस गरेको जनाइएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फ नाम सिफारिस गरेको जनाएका छन् । पनेरुकै नाम केन्द्रले स्वीकृत गर्ने निश्चित प्रायः रहेको परिवार दल स्रोतले जनाएको छ ।
झापामा ०६४ सालमा परिवार दलको जिल्ला कमिटी गठन हुँदा पनेरु जिल्ला उपाध्यक्ष थिए । उनले हाल नेपाल परिवार दल झापाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनी ७० सालको संविधानसभा निर्वाचनमा झापाबाट समानुपातिक उम्मेदवार बनेका थिए । तथापि, उनी सांसद् निर्वाचित भएनन् ।
परिवार दलले देशभरबाट २ जना समानुपातिक सांसद् निर्वाचित गराउन सकेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल र मिलन राजवंशी सांसद् हुन् । ढकाल एमाले अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध राख्ने नेताका रुपमा चिनिन्छन् ।
‘मेचीबाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ’– पनेरुले भने– ‘हामी एमालेसँग तालमेल गरेर चुनाव लड्छौँ, एमालेले पनि मलाई सर्वसम्मत उम्मेदवार बनाउने अपेक्षा छ ।’ वाम एकताको कुरा उठेसँगै परिवार दल सोही शक्तिसँग मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेको छ । स्थानीय तह निर्वाचनमा पनि परिवार दलले झापामा एमालेलाई सघाएको थियो ।
‘एमालेले मलाई प्रदेशसभामा चुन्छ’– उनले भने– ‘हामी सूर्य चिन्हबाटै चुनाव लड्ने हो, त्यसले पनि मेरो नाममा कसैले बिरोध गर्छ ,जस्तो लाग्दैन ।’ उनले आफ्नो नाम एमालेभित्र पनि सर्वसम्मत हुने दावी गरे ।
परिवार दलले पनेरुलाई झापाको क्षेत्र नम्बर ३बाट चुनाव लडाउन एमालेसँग पहल गरिरहेको छ । एमालेले भने पनेरुलाई समानुपातिक कोटामा चुनाव लड्न आग्रह गरिरहेको बुझिएको छ । पनेरुलाई समानुपातिक कोटामा चुनाव लड्न एमालेका वैकल्पिक केन्द्रीय सदस्य रवीन कोइरालाले सल्लाह दिएको स्रोतको भनाइ छ ।

