Aamsanchar

प्रहरीको कमजोरीले ‘लुटपाट’

Author Image
शनिवार, असोज २८, २०७४

बिर्तामोड।

सुरक्षा व्यवस्था कमजोर भएका कारण दिनदहाडै बिर्तामोडको सुन पसल लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले स्वीकारेका छन् ।
सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायी संघ झापा र बिर्तामोड उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाउँदै कमजोर सुरक्षा व्यवस्थाका कारण अष्टलक्ष्मी सुन पसलमा दिनदहाडै पेस्तोल देखाएर लुटपाट भएको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
सो क्रममा डीएसपी सिलवालले आफू बिदा गएको समयमा सुरक्षा व्यवस्था कमजोर भएको र ‘मोनिटरिङ’को अभावमा दिनदहाडै सुन पसल लुटिएको स्वीकारेका छन् । उनले लुटपाटमा संलग्नको खोजी भइरहेको बताएका छन् । व्यवसायीले बुझाएको ज्ञापनपत्र लिँदै अगाडि भने– बिर्तामोडमा घटेको घटनाप्रति म पनि दुःखी छु, जतिसक्दो चाँडै लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने मेरो प्रयत्न रहनेछ ।
बिर्तामोडमा एक ठाउँमा मात्रै जडान गरिएको सीसी क्यामेराका कारण पनि लुटेरालाई भाग्न सहज भएको र सुन पसल लुटिएको सूचना ७÷८ मिनेट ढिलो आएकाले पनि समयमा लुटेराको पहिचान हुन नसक्दा उनी भाग्न सफल भएको बताए ।सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष सुपदल धमला (राजु)को अगुवाईमा इलाका पुगेको व्यवसायीको टोलीले सवै व्यवसायीलाई सुरक्षाको प्रत्याभूति हुने गरी शान्ति सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले लुटपाटमा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेका छन् । बाणिज्य संघले समेत छुट्टै ज्ञापनपत्र बुझाउँदै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिलाइदिन समेत डीएसपी सिलवाललाई आग्रह गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका व्यवसायी नै असुरक्षित बनेको र प्रहरीले शान्ति सुरक्षा दिन नसक्दा सुन पसल लुटिएको बताएका छन् । उनले भरपर्दाे शान्ति सुरक्षा मिलाइदिन प्रहरी समक्ष आग्रह गरेका छन् । संघका सदस्य सञ्जीव घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर