झापा।

मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २५ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारका लागि खर्चको सीमा तोकेको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले पहिलो हुने निर्वाचित हुनेप्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख रुपैयाँ, प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँ र समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारले २ लाख रुपैयाँ तथा प्रदेशसभा सदस्य उम्मेदवारले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले २५ लाख रुपैयाँ र प्रदेशसभा उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने बताइएको छ ।

