Aamsanchar

‘लिम्बुवान’ स्वायत्त प्रदेश माग्ने संघीय लिम्बुवान मञ्च पनि चुनावी मैदानमा

Author Image
शनिवार, असोज २८, २०७४

तेह्रथुम, 

पूर्वका नौ जिल्ला लिम्बुवान स्वायत्त प्रदेशको माग गर्दै आएको कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च पनि आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुने भएको छ ।

लिम्बुवानले तेह्रथुम जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवारहरु सिफारिस गरेको छ । जिल्लाबाट यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र नेकपा मालेले उम्मेदवारका आकांक्षीहरुको सूची पठाइसकेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा सदस्यका लागि दुुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रिय सदस्य शंकरमान खेवा र समानुपातिक तर्फ जिल्ला कार्य समिति सदस्य गुमानसिंह लिम्बुलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश सभा सदस्यको निर्वाचनमा क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिका पूर्वअध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य देउनारायण सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । समानुपातिक तर्फ केन्द्रिय सदस्य खेलप्रसाद सम्बाहाम्फेको नाम सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष विजय निङ्लेकुले बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य विष्णुकुमार लिम्बु (शेशेहाङं) लाई उम्मेदवार बनाएको छ । लिम्बु नेपाल पत्रकार महासंघका पुर्व–सहसचिव तथा पत्रकार समेत हुन् । समानुपातिक तर्फ आठराई थुम कार्यसमिति सदस्य जितबहादुर कन्दङवाको नाम पठाइएको अध्यक्ष निङ्लेकुले जानकारी दिनुभयो।

संघीय लिम्बुवान मञ्चले संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको खुकुरी चुनाव चिन्ह लिएर मैदानमा उत्रिने जनाएको छ । कुमान लिङ्देन नेतृत्वमै रहेको निर्वाचन आयोगमा खुकुरी चुनाव चिन्हसहित दर्तामा भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च पार्टीले सिंगो नेपाललाई पहिचान सहितका प्रदेशमा विभाजन गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रदेश सभा क्षेत्र नं. १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्दछन् । यस्तै क्षेत्र नं. २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्दछन् । यो निर्वाचनमा जिल्लाबाट कुल ६६ हजार ७ सय ४३ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । -प्रकाश धौलाकोटी/उज्यालो ।

Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर