Aamsanchar

पेशा संकटले कुमाले चिन्तित

Author Image
सोमवार, असोज ३०, २०७४

बिर्तामोड।

कुमाल समुदायको पूख्र्याैली पेशा हो माटाका भाँडाकँुडा बनाउने । उनीहरुले वर्षाैदेखि माटाका भाँडाकँुडा बनाएर जीवन निर्वाह गर्दै आएका छन् ।
झापाको बाह्रदशी गाउँपालिका–६का ५० घर परिवार वर्षौदेखि माटाका भाँडाकँुडा बनाएर जीवन निर्वाह गरिरहेका छन् । बाशीनाथ पण्डितले माटाका भाँडाकँुडा बनाएको झण्डै तीस बर्ष भइसकेको छ । उनले १० वर्षको उमेर हुँदादेखि नै माटाका भाँडाकँुडा बनाउन सिकेका हुन् । अहिले माटाकै भाँडाकँुडा बनाएर उनले आफ्नो परिवार धानिरहेका छन् ।

उनीमात्र होइन सोही ठाउँका रञ्जित पण्डितले पनि आफ्नो आठ जनाको परिवार माटाकै भाँडाकँुडा बनाएर धानीरहेका छन् । उनीहरुले दीपावलीमा प्रयोग हुने पालादेखि घैला, खुत्रुके, धुपौरो आदि बनाएर बिक्रीबितरण गर्दै आएका छन् ।
पछिल्लो समय विद्युतीय उपकरण र प्लाष्टिकका घरायसी सामग्री बजारमा छ्याप्छ्याप्ती पाउन थालेपछि माटोका सामग्रीको बिक्री बितरण कम हुँदा उनीहरुको पेशा संकटमा छ । तिहारमा मात्रै १० लाख पालाको विक्री बितरण गर्दै आएको सो कुमाल समुदायले अहिले मुस्किलले एक लाख पाला विक्री गर्ने गरेको बताइन्छ ।

तिहारमा पालाको सट्टा इलेक्ट्रोनिक्स दियो र झिलिमिली वत्तीको बढी प्रयोगले माटाका सामग्री बिक्री बितरण हुन छाडेको बताउँछन्– बाशीनाथ । उनी भन्छन्– ‘बिजुलीका सामग्री प्रयोगका कारण पालाको व्यपार घटेको हो, माटाका घैला पनि वजारमा पाइने प्लाष्टिकका बाल्टिनका कारण कमै मात्र बिक्ने गरेको छ ।’
केही बर्ष अघिसम्म तिहारको समयमा पाला बनाउन भ्याइनभ्याई हुने सो कुमाल समुदायलाई अहिले पाला नबिक्ला र तिहार मनाउन नपाइएला भन्ने चिन्ताले पिरोलेको छ । खातेपाती र अन्य काममा उनीहरु सक्रिय नभएका कारण उनीहरुको मुख्य कमाइ हुने बेलामा पालाको व्यापार खस्किएपछि उनीहरु चिन्तित छन् ।

झापामा उत्पादित पालासहित माटाका भाँडाकुँडा मेची अञ्चलका विभिन्न जिल्ला र पश्चिमका केही मुख्य ठूला बजारमा विक्री बितरण हुँदै आएको छ ।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर