Aamsanchar

मतदाता फकाउन नेता घर–घरमा

Author Image
मङ्गलवार, असोज ३१, २०७४

दमक।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आएसँगै बिभिन्न पार्टीका प्रस्तावित उम्मेदवार तथा पार्टीका स्थानीय नेताहरु चाडपर्वको समयमा घर आएका मतदाता कार्यकर्ताहरुलाई निर्वाचनको समयसम्म टाढा नजान र गए पनि निर्वाचनमा जसरी पनि आउन आग्रह गर्दै घरघर पुग्न थालेका छन् ।
लामो संघर्षपछि मूलक संघीयतामा प्रवेश गरेकाले यसको संस्थागत बिकासका लागि योपटक आफूहरुलाई मतदान गर्नका लागि गाउँघरमा नै बस्न, चुनावी अभियानमा सरिक हुन र त्यो सम्भव नभए कुनै हालतमा बिदा मिलाएर आउन आग्रह गर्दै प्रस्तावित उम्मेदवार र पार्टीका नेताहरु कार्यकर्ताको घर आँगनसम्म जान थालेका हुन् । निर्वाचन आउन करिब अढाई महिना अझै बाँकी नै रहेको छ ।
चाडपर्वमा मनाउन बिदेश तथा आफ्नो घरगाउँ बाहिर गएकाहरुलाइ बिदा लम्याउन र त्यो सम्भव नभए निर्वाचनमा जसरी पनि आउनका लागि आग्रह गर्न थालेका हुन् । नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले यो मूलकलाई सम्बृद्धिमा लैजाने र अहिलेसम्म भएका परिवर्तनलाई संस्थागत गर्नका लागि हरेक मतदाताहरुको भूमिका रहने भएकाले यो अवसर गुमाउनु नहुने बताउँछन् ।
पार्टीहरुले बाहिर रहेका र निर्वाचनमा आउनसक्ने मतदाताहरुको सूची समेत बनाउन थालेका छन् । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले आफ्नो फेसबुकमा नै आफूलाई मत हाल्नका लागि बिदेशबाट शुभेच्छुकहरु आउने क्रम शुरु भएको भन्दै तस्वीरहरु सार्वजनिक गर्न थालेका छन् । उनले चाडपर्व मान्न आएका मतदाताहरु पनि यसपटक निर्वाचनलाई ठूलो चाडको रुपमा नै लिएर आफ्नो मतअधिकार प्रयोग गर्ने बिश्वास लिएको बताउने गरेका छन् ।
माओबादी केन्द्रका युवा नेता गगन पुरीका अनुसार संबिधान कार्यन्वयनसँगै मुलुकलाई नयाँ गतिमा लैजानका लागि यो निर्वाचन महत्वपूर्ण हुने भएकाले सकेसम्म यस अभियानमा सबै काम छाडेर लाग्नुपर्ने बताए । उनले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई आफ्नो मताधिकार प्रयोगका लागि सकेसम्म घरगाउँमा नै रहन र त्यो सम्भव नभएर निर्वाचनमा भने जसरी पनि आग्रह गरिँदै आएको जनाए ।
यहाँ रहेका राजनीतिक दलहरुले बिगतमा भएका निर्वाचनहरुमा राजधानी लगायत बाहिर रहेका मतदाताहरुका लागि गाडी नै व्यवस्था गर्दै आएका थिए । उनीहरुले निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताहरुलाई आउने र जाने भाडाको व्यवस्था गर्ने गरेका छन् । यसले निर्वाचन खर्च धेरै बढाउने गरेको उम्मेदवारहरुको भनाइ रहेको छ । एक मतदाता ल्याउनका लागि कम्तीमा पनि उम्मेदवारको ५ हजार खर्च हुन्छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर