Aamsanchar

बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

Author Image
मङ्गलवार, असोज ३१, २०७४

काठमाडौँ, 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताउनुभएको छ ।

पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उहाँले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।”

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताउनुभयो । “लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो,” उहाँले भन्नुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले काँग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताउनुभयो ।

उहाँले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताउनुभयो । “कम्युनिष्टहरुको कुनै आदर्श, मूल्य मान्यता र सिद्धान्त छैन,”– उहाँले भन्नुभयो । एक दलीय शासन लागू भए लोकतन्त्र र राष्ट्रियता खतरामा पर्ने उहाँको भनाइ थियो ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न बाम गठबन्धन भएको बताउनुभयो । उहाँले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन विद्यार्थीलाई आवश्यकताअनुसार परिचालन गनुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य डा प्रकाशशरण महतले लोकतन्त्र बचाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “बामपन्थीहरुले १५ वर्षमा नेपालमा कम्युनिष्ट व्यवस्था लागू गर्ने जुन सपना देखेका छन् त्यो पूरा हुन सक्दैन,”– डा महतले भन्नुभयो ।

कृषिमन्त्री एवं पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादवले संविधान कार्यान्वयनका लागि भएपनि मंसिरमा हुने निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेवि संघका अध्यक्ष नैनसिंह महर तथा महामन्त्री कुन्दनराज काफ्लेले काँग्रेस सरकारको समयमा नेपालको शिक्षा क्षेत्रले महत्वपूर्ण फड्को मारेको भन्दै मुलुकको समृद्धि पनि काँग्रेसले नै गर्ने बताउनुभयो ।

देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई काँग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेवि संघले जनाएको छ ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर