Aamsanchar

आमाले छाडिन्, बाबु जेल परे, दुई बालकको विचल्ली

Author Image
मङ्गलवार, असोज ३१, २०७४

[प्रकाश धौलाकोटी ]

तेह्रथुम, 

जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् । त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठबर्षअघि आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरुलाई बुबा मानबहादुरले पनि समय दिन सकेनन् ।

आमाले छाडेपछि बाबुको पनि अवस्था नाजुक बन्यो । गरिबी र अशिक्षाले पिल्सिएको मानबहादुरको घरमा साँझ बिहान चुलो बाल्नै मुस्किल प¥यो । सँगसँगै काम गर्दै बनिबुतो गरेर दुई छाक हातमुख जोर्दै आएकी श्रीमतीले छाडेर अर्कैसँग गएपछि मानबहादुरले अत्यधिक मादक पदार्थ सेवन गर्न थाले । छोराहरुको हेरचाह पुगेन ।

दुवै छोराहरु सानैदेखि छरछिमेककै आडमा हुर्किए, डुल्ने घुम्ने बानी लाग्यो । श्रीमतीले छाडेपछि विरक्तिएका मानबहादुर पनि छोराहरुको असल अभिभावक बन्न सकेनन् । अन्ततः मानबहादुर पनि गत असारमा जबर्जस्ती करणीको आरोपमा जेल परे । त्यसयता दुई बालकको झनै विचल्ली भएको छ । उनीहरुको आफ्नो घर भएपनि त्यहाँ चुलो नबलेको वर्षांैै बितेको छ ।

मानबहादुरको भागमा करिब तीन रोपनी जमिन रहेको भए पनि त्यो पनि अंशबण्डा भएको छैन । अहिले त्यो जमिनमा खेतीपाती लगाउने मान्छे पनि छैन । निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–८ मा पढ्ने निर्मल र कक्षा–३ मा पढ्ने निर्जल दुवैको पढाइ लथालिङग छ । छिमेकीकहाँ बसेर पढ्न जाने गरेपनि उनीहरुको खाने, बस्ने र हिँड्ने कुनै ठेगान छैन ।

गाउँमा अहिले तिहारको रौनक छ । तर यी दाजुभाइलाई न त दशैँ नै आयो, न त तिहार नै । बाटोमै भेटिएका निर्मल भन्छन्, “आमाले छाडिन्, बुबा जेलमा छन्, हामीलाई न दशैँ आयो, न तिहार नै ।” बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक मेटाइदिने बाबु छन्, न त रुन कराउन आमाको काख नै ।

विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैन, न त लगाउने विद्यालय पोशाक नै हुन्छ ? कहिले भोकै विद्यालय पुग्छन्, कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन उनीहरुलाई । सानो छँदाको कुरा सम्झिँदै निर्मल भन्छन्, “बुबाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थें, पछि आमाले पनि छाडेर हिँडिन् ।”

आमाले छाडेर अर्कैसँग पोइला गएकी उनले बताए । आमाले छाडेपछि आफूहरु मामली पनि नगएको उनी बताउँछन् । आमा बाबुले छाडेपछि दुई बालकको विचल्ली भएको पूर्ववडाध्यक्ष गंगाप्रसाद इङनामले बताउनुभयो ।

“बाबुआमा नहुँदा बच्चाको कस्तो हालत् होला ? यिनीहरुको त्यस्तै हालत छ,” उहाँले भन्नुभयो । आफूले दुई बालकको हेरचाहका लागि उनका आफन्तसँग कुरा गरेपनि कसैले चासो नदिएको उहाँले बताउनुभयो ।

“यिनलाई कसैले वास्ता गरेनन्,” उहाँले भन्नुभयो, “त्यसैले छरछिमेकमै बसेर पढ त भनेका हौँ, तर भनेजस्तो कहाँ हुन्छ र ?” दुई बालकको अवस्थाबारे सबैले चासो राखेका छन् तर कतैबाट पनि उनीहरुको उद्धारका लागि उल्लेख्य पहल नभएको छिमेकीहरुको भनाइ छ ।

“निर्मल र निर्जलका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो,” छिमेकी कल्पना घिमिरेले भन्नुभयो, “दुवैजना सानै छन्, यो बेला पढ्न, लेख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार नै हो, तर कसले गरिदिने त्यस्तो व्यवस्था ?” साँझ बिहान जताततै हिँड्ने भएपछि बालकैमा कुलतमा फस्ने सम्भावना पनि रहेको स्थानीयवासीको चिन्ता छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर