Aamsanchar

डेंगूको संक्रमणका कारण बिर्तामोडमा एकको मृत्यु/१२० बढीमा संक्रमण

Author Image
आइतवार, कार्तिक ५, २०७४

झापा।

झापामा डेंगू रोगको प्रभावकारी नियन्त्रण हुन नसक्दा डेंगू रोगको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य जाँचका लागि बिर्ता हेल्थ क्लिनिक आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीएण्डसी अस्पताल पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मेहेताले बताए ।
बिर्तामोड नगरपालिकाको कार्यालय नजिकै साहको घर रहेको छ । डेंगू नियन्त्रणका लागि प्रभावकारी कदम चालेको नगरपालिकाले जनाए पनि कार्यालयकै नजिकै रहेका साहको डेंगू रोगको संक्रमणका कारण मृत्यु भएपछि स्थानीयवासी डेंगू रोगप्रति त्रसित बनेका छन् ।
गत असोज ६गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ । झापामा हालसम्म १ सय २० जना मानिसमा यो रोगको संक्रमण देखा परेको बताइएको छ ।
गत असोज ६ गते बिर्तासिटी हस्पिटालमा स्वास्थ्य परीक्षणका लागि आएका एक व्यक्तिमा यो रोगको संक्रमण देखापरेको थियो । त्यस यता मात्रै ८५ जनामा यो रोगको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । भाइरल फिवरका रुपमा चिनिने डेंगू संक्रमण फैलन थालेपछि स्थानीयमा त्रास बढ्नुका साथै अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
झापाका विभिन्न स्थानमा डेंगूको संक्रमणदेखा परिरहेका बेला बीएण्डसी हस्पिटलबाट डेंगूको संक्रमण भएका ९० जनाले सफल उपचार पछि घरफर्किएका छन् । गत साउनदेखि हालसम्म ८ सय ८४ डेंगू रोगको परीक्षण गरेको जनाइएको छ । उक्त अवधिमा १२० जनामा डेंगू रोग देखा परेको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । डेंगू रोगको उपचारका लागि अब कसैले भारतका शिलगढी लगायतका अस्पताल धाउनु नपर्ने निर्देशक प्रसाईले बताए ।
तिहारको ४ दिनको अवधिमा मात्रै १२ जनामा डेंगू प्रोजेटिक देखिएको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । पछिल्लो समय झापाका बिर्तामोड, दमक, सुरुङ्गा, काँकरभिट्टा लगायतका स्थानमा डेंगू रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कूलबहादुर पौडेललले जानकारी दिए ।
बीएण्डसी हस्पिटलले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक प्रसाईले बीएण्डसीले डेंगू रोगको उपचार गरेपनि केहीले अझै उपचार हुँदैन भनेर भ्रम फैल्याएको भन्दै बीएण्डसीमा सबै प्रकारको उपचार हुने उनले दाबी गरे ।
डेंगू रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउँको दुख्ने, हार्डजोर्नी दुख्ने लगायतका समस्या भएमा तत्काल उपचार गराउन बीएण्डसी हस्पिटलका फिजिसियन डा. किशोर कुमारले सुझाव दिएका छन् । मानिसमा एक लाख सेतो रक्तकोशिका हुनुपर्ने भन्दै डेंगू रोग लागेमा रक्तकोशिका अर्थात् प्लेटलेटको कमीले गर्दा मानिसको ज्यान नै जानसक्ने बताए । उनले एडिस नामक पोथी लामखुट्टेको टोकाईले यो रोगको संक्रमण फैलने डा. कुमारले जानकारी दिए । दिउँसोको समयमा उक्त लामखुट्टे सक्रिय हुने बताइएको छ ।
यता बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र दंगालले बिर्तामोडमा जनचेतना फैल्याउने काम भइरहेको बताए । सडक किनारमा राखिएका टायरमा पानी जमेका कारण यो रोग महामारीको रुपमा फैल्न सक्ने भएकाले आजैबाट टायर हटाउने तथा खाडाखुल्डी पुर्ने काम शुरु गर्ने जानकारी दिए ।
यसैबीच बीएण्डसी हस्पिटलका डा. दिनेश यादवले बीएण्डसी हस्पिटलमा पर्याप्त मात्रामा डेंगू रोग परीक्षण गर्ने किटहरु रहेको र उपचारका आवश्यक पर्ने सबै खालका उपकरणहरु समेत बीएण्डसी हस्पिटलमा रहनुका साथै दक्ष चिकित्सक भएकाले सहज रुपमा उपचार भइरहेको बताए । डेंगू रोगलाई हाउगुजीका रुपमा नलिन आग्रह गर्दै यो एक किसिममा भाइरल रोग भएको चिकित्सकहरुले बताएका छन् । नियमित रुपमा शारीरिक ब्याम र खानपिनमा ध्यान दिने हो भने सहजरुपमा डेंगू रोगबाट बच्न सकिने जनसम्पर्क अधिकारी गिरीले बताए ।
डेंगूका कारण झापामा दुईको मृत्यु
डेंगू रोग नेपालमा पहिलोपटक सन् २००४मा देखा परेको थियो । त्यस पश्चात २००६ मा चितवन र रुपन्देहीका भित्रिमधेशमा यसका सक्रमण फैलिएको जनाइएको छ । झापामा भने सन् २०१२मा पहिलोपटक काँकरभिट्टामा यसको संक्रमण फैलिएको थियो ।
उक्त समयमा ४१२ जनामा डेंगू रोगको संक्रमण देखिएकोमा दुई जनाको मृत्यु भएको थियो । त्यस पश्चात हालसम्म डेंगू रोगका कारण झापामा कसैले ज्यान गुमाउनु नपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कूलबहादुर पौडेलले जानकारी दिए । डेंगूको सक्रमण गतवर्ष झापाकै दमकमा पनि फैलिएको थियो ।

उक्त समयमा ४२० जनामा डेंगू पोजेटिक फेला परेको र सबै उपचार पश्चात निको भएको पौडेलको भनाइ छ । यस वर्षपछि डेंगूको सक्रमण फैलिएको बताए । पौडेलका अनुसार दमकमा ५, काँकरभिट्टामा ६, बिर्तामोडमा ५२, अर्जुनधारामा ७, बुद्धशान्तिमा २, पाँचथरमा १, इलामका २ र भारत लगायतका अन्य स्थानका ६ जना गरी ८१ ज्नामा डेंगू रोगको संक्रमण देखापरेको छ । सबैको उपचार भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
बिर्तामोडमा संक्रमण धेरै, नगरपालिका सुस्तायो
स्थानीय तहको निर्वाचन पश्चात स्थानीय तहमा धेरै अधिकारहरु आए पनि अधिकारलाई प्रयोग गर्ने विषयमा भने बिर्तामोड सुस्ताएको छ ।
बिर्तामोड नगरपालिकामा मात्रै ५२ जनामा यो रोगको संक्रमण देखिँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र दंगालले बिर्तामोड नगरपालिकाले जनचेतना फैल्याउने तथा टायर हटाउने काम गरिरहेको बताए । तर, उनले हालसम्म टायर हटाउने विषयमा कसैले सहयोग नगरेको गुनासो गरेका छन् ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले टायर हटाउन र खाल्डाखुल्डी पुर्न आग्रह गरेको १५ दिन बिते पनि त्यसपश्चता के उपलब्धी भयो भन्ने विषयमा भने कुनै चासो नदिएका नगरपालिका जनस्वास्थ्यको विषयमा सस्त देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताँउछन् । नगरपालिकामा धेरै अधिकार भएपनि त्यो अधिकार लागू गर्ने विषयमा नगरपालिका पछि परेको भन्दै आलोचना समेत शुरु भएको छ ।
पा“च स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण
झापामा डेंगूको संक्रमण देखापरेपछि कसैलाई यो रोगको परीक्षण गर्नु परेका पाँचवटा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्न सकिने जनस्वास्थय कार्यालयका महामारी फोकल पर्सन पौडेलले बताए ।

उनका अनुसार दमक अस्पताल, प्राथमिक स्वास्थ केन्द्र सुरुङ्गा, बिर्तामोड हेल्थपोष्ट, धुलाबारी प्राथमिक स्वास्थ्य केनद्र र काँकरभिट्टा हेल्थपोष्टमा डेंगूको संक्रमणको जाँच गराउन सकिने छ । झापमा डेंगूको संक्रमणको परीक्षण्का लागि पयाप्त किट समेत रहेकाले समयमा उपचार गराउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर