(पार्थ मण्डल)

झापा ।

नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा भव्य रुपमा मनाइने छठ पर्वको तयारीलाई तिव्रता दिइएको छ । गत साउन महिनामा आएको बाढीले नदीको धार परिवर्तन गरेपछि यसबर्ष व्रतालु तथा भक्तजनहरुको व्यवस्थापनमा कठिनाई उत्पन्न हुने भएको छ ।
अघिल्लो बर्ष नदीको बिच भाग वा भारततर्फबाट पानी बग्ने गरेको थियो । तर, यसबर्ष जमिन काट्न गर्दै भद्रपुर सीमासंग टासिएर पानी बग्न थालेको छ । यसले छठ पर्वको दिन आउने व्रतालुसहित भक्तजनको भिड नियन्त्रण गर्न हम्मे हम्मे पर्ने छ । नदीले धार परिर्वतन गरेपनि यसको व्यवस्थापनका लागि मैथिल समाज भद्रपुर लागि परेको समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए ।

अन्य बर्ष भन्दा यसबर्ष भिड नियन्त्रण गर्न असहज हुने बताउदै उनले भने– ‘यसका लागि नदीमा अस्थायी बाँसे पुल बनाउने काम धमाधम भइरहेको छ ।’ बाँसे पुलको सहायताले भक्तजनहरु नदी पारी गएर पूजा आर्चना गर्ने घाट व्यवस्थापनमा समेत समाज जुटिपरेको उनले बताए । नदी किनारमा रहेको खाली भागलाई मिलाउन र सम्याउने काम पनि भइरहेको छ । मेची नदीको व्यवस्थापनका लागि समाजले यसबर्ष चार लाख खर्च गर्ने जनाउदै छठ पर्वको दिन नदीको चारैतिर विजुली बत्ती जडान कार्य जारी रहेको उनले बताए ।
नदीमा बाँसे पूल बिना छठ पर्व अधुरो
छठ पर्वको दिन नेपाल र भारत दुवै देशका व्रतालु तथा भक्तजनहरुको नदीमा घूइँचो लाग्ने गरेको छ । दुवै देशका भक्तजनहरुको घूइँचोसाथै आवतजावतलाई मध्यनजर गर्दै विगत एक दशकदेखि छठ पर्वलाई लक्षित गरी नदीमा बाँसे पूल बनाउन थालिएको हो । बाँसे पूल बिना भद्रपुरको छठ पर्वको रौनकता कमि आउने नगरबासी स्वयम बताउँछन् । त्यसैले भद्रपुर नगरपालिका कार्यालय र मैथिल समाजकै पहलमा हरेक बर्ष नदीमा बाँसे पूल बन्ने गरेको छ । बाँसे पूलकै सहयोगले ब्रतालु भक्तजनहरु पूजा सामग्री लैजान र नदीको दुवै किनारका घाट पुग्न सहज हुने छ । यसबर्ष नगरपालिकाले बाँसे पूल बनाउन करिब १ लाख ५० हजार बजेट छुटाएको छ । १५० फिट लामो बाँसे पूलको काम बुधवार सम्म सम्पन्न हुने जनाइएको छ ।
बेहुली झै सिंगारिन्छ नदी
नेपालको झापा जिल्लाको मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु तथा भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकोले भद्रपुरको छठ पर्वको नेपालमै छुटै विशेषता छ । भद्रपुर ५ स्थित देवीबस्ती सम्मको दुवै तर्फ गरी २ किलोमिटर लामवद्ध नदीका दुवै किनारमा ५ हजार बढी पुजा स्थल (घाट) बनाइने छ ।
सो दिन मेची नदीमा विजुलीबत्ती, केराको बाटो, रंगविरङ्गी रिवन, विभिन्न किसिमका फुलले पूजा स्थल सजावट गरी नदीलाई नयाँ बेहुली झै सिङ्गारी काम हुदैछ । मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापन देखि लिएर सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती जडान, शौचालय, नेत्र ज्योति समाज भद्रपुरद्धारा निशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउने लगायत कार्य धमाधम भइरहेको समाजले जनाएको छ । छठ पर्वलाई सभ्य र भव्य बनाउन मैथिल समाज र युनिक समूहले छुटाछुटै व्यवस्थापन कार्यमा जुटेका छन् ।
छठ पर्व मंगलबारदेखि सुरु भएपनि खोला तथा नदी किनारमा कार्तिक ९ गते बेलुका र १० गते विहान मनाइने छ । नेपालको जनकपुर पछिको दोस्रो स्थान ओगटन सफल भएसँगै छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान लगायत अन्य देशहरुबाट व्रतालु तथा भक्तजनको उल्लेखिनिय सहभागिता हुने गरेका छन । यस नदीमा मधेशी समुदाय बाहेक नेपाली, मुस्लिम, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायले पनि छठ पर्व साझा पर्वको रुपमा लिएर एक साथ मनाउदै आएको चलन छ ।
सुरक्षा व्यवस्था कडाई बनाइने
मेची नदी मनाइने छठ पर्वलाई मध्यनजर गर्दैै यता वडा प्रहरी कार्यालय भद्रपुरले शान्ति सुरक्षा कडा पारिने जनाइएको छ । सिमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीसंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए । छठ पर्वका दिन ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक भन्दा बढी प्रहरी आवश्यकता अनुसार परिचालन गरिने उनले बताए ।
व्रतालु परिवारका सवारीसाधन बाहेक अन्य सवारीसाधनलाई भन्सार गेटमा रोक लगाउने, बारुदजन्य पटका निषेध, केटी जिस्काउने तथा जाडरक्सी खाई होहल्ला गर्नेलाई पक्राउ गरी कार्वाही गरिने, सादा पोशाकमा प्रहरी परिचाल गर्नुका साथै विभिन्न स्थानमा प्रहरी विट राखेर सुरक्षा प्रदान गरिने छ । सानो ठाउँमा भीड नियन्त्रण गर्न र बाँसे पूलमा आवतजावतलाई सहज बनाउने सुरक्षा रणनीति बनाएपनि प्रहरीलाई केही समस्या पर्ने उनले बताए ।

