(नरेन्द्र ढकाल)
बिर्तामोड ।


सरकारले अध्यादेश मार्फत ल्याएको विधेयकले अरबौंको लगानीमा सञ्चालनमा आएका नीजि अस्पतालाई ध्वस्त पार्न खोजिएको बीएण्डसी हस्पिटलले आरोप लगाएको छ ।
बुधबार हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विधेयकले गोविन्द केसीलाईका माफियालाई फाइदा पुगेपनि मेची अञ्चलका २७ लाख जनता यसबाट प्रभावित भएको आरोप लगाएका छन् । वर्तमान सरकारले नीजि क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालहरुलाई तहसनहस बनाउने हेतुले संसद समेत नभएको अवस्थामा चोरबाटो प्रयोग गरेर बीएण्डसी हस्पिटल माथि राजनीति गरेको बताएका छन् ।
मेडिकल कजेल खोल्न आसय पत्र दिने तर सबैसर्त पुरा गरेपछि हुदैन भन्ने वर्तमान सरकारका केही माफियाका कारण लाखौं जनता प्रभावित भएका छन् भने अरबौंको संरचना पनि त्यत्तिकै थन्किने अवस्थामा पुगेको कार्यकारी निर्देशक प्रसाईले बताए । काठमाण्डौंलाई मात्र नेपाल सम्झिने डा. केसीका कारण मेची अञ्चलका जनताले आफ्नै ठाँउमा मेडिकल शिक्षा पाउनबाट बञ्चित हुनुपरेको बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जनताको हितमा नभएको भन्दै विधेयकलाई प्रमाणिकरण नगरिदिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अनुरोध समेत गरेका छन् । मेची अञ्चलमा एउटापनि मेडिकल कलेज नभएको अवस्थामा मेडिकल कलेजका लागी सबै पूर्वाधारहरु पुरा गरेर अनुमति लिनका लागी शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल कलेजका लागी योग्य भने अनुमति प्रदान गर्न निर्देशन दिएपनि काठमाण्डौं विश्वविद्यालयलाई विभिन्न अंकुश लगाएर बीएण्डसी विरुद्ध राजनीति गर्ने काम भएकाले अब मेची अञ्चलबासीले एक भएर आवाज उठाउनुपर्ने धारणा ब्यक्त गरे ।

नेपालमा मेडिकल कलेज खोल्न नदिने र माफियाको चंगुलमा फसेर वर्षेनी अरर्बै रुपैंया विदेश पठाउने खेलमा केही ब्यक्ति लागेको आरोप लगाए । विदेश अध्ययनका नाममा वर्षेनी ३२ अर्ब रुपैंया विदेशीने गरेको भन्दै स्वदेशमा नै गुणस्तरिय शिक्षा दिने हो भने उक्त रकम आफ्नै देशमा रहने विषयमा कसैले ध्यान नदिएको भन्दै डा. केसी डलरको भरमा बेला–बेला उफ्रने गरेको कार्यकारी निर्देशक प्रसाईले आरोप लगाए ।
जति धेरै मेडिकल कलेज खुल्यो त्यत्तिनै प्रतिस्पर्धा हुने र उत्कृष्ट विद्यार्थी नेपालमा नै बसेर सेवागर्ने मौका पाउने भन्दै कार्यकारी निर्देशक प्रसाईले भने–राम्रालाई युरोप लगायतका देशले लाखौं खर्च गरेर उत्तै राख्छन् अनि कसरी हुन्छ यहाँको प्रगति । सरकारले अध्यादेश मार्फत ल्याएको चिकित्सा शिक्षा विधेयकमा ७५ प्रतिशत निःशुल्क भनेर हाल सञ्चालनमा रहेका नीजि मेडिकल कलेजलाई समेत धरासायी बनाउने काम वर्तमान सरकारले गरेको बीएण्डसी हस्पिटलका प्रिन्सिपल प्रो.डा.उमेशकुमार शर्माले बताए ।

यो विधेयकले नीजि मेडिकल कलेजलाई सम्बन्धन नदिने खेल रचेको भन्दै विरोध गरेका छन् । राजनीतिक दाउपेचका कारण मेडिकल कलेजलाई अनुमति नदिएको भन्दै डा.रोहितकुमार यादवले विरोध गरेका छन् । आफुहरुले डा.केसीका मागको सम्बन्धमा पहिला सम्र्थन गरेपनि अनावश्यक माग राख्ने काम गरेर माफियाको पछि लागेकाले डा. केसी नै सर्वपरि नभएको धारणा ब्यक्त गरेका छन् ।
२०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागी आसय पत्र दिइएको र सबै मापदण्ड पुरा गर्दासमेत नेपाली कांग्रेसका केही नेताहरुले विभिन्न बहाना बनाएर विकास विरोधी काम गरेको कार्यकारी निर्देशक प्रसाईले बताए । उनले बीएण्डसी हस्पिटलले गत वर्ष मात्रै ६ करोड ४८ लाख रुपैंया राजश्व बुझाएको र चालु आर्थिक वर्षमा समेत हालसम्म ८ करोड राजश्व बुझाई सकेको हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
हस्पिटलले ७७२ जनालाई रोजगारी दिएको बताइएको छ । ८२ जना कन्सल्टेड डाक्टरहरु रहेको बीएण्डसी हस्पिटलमा अत्याधुनिक उपकरणका साथ सेवा प्रदान गरिरहेको अस्पतालका जनसम्र्पक अधिकारी गिरीले जानकारी दिए । सरकारले एक अञ्चलमा एउटा मेडिकल कलेजको अवधारणा ल्याएपनि त्यसलाई ब्यवहारमा उर्तान नसकेको पाइएको छ । चिकित्सा शिक्षा अध्यानका लागि सम्बन्धन दिने काठमाण्डौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमात्र रहेको र उनीहरुलाई पनि ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने गरि विधेयक तयार गरिएको छ ।
यो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएमा बीएण्डसी जस्ता अरबौं लगानी गरेर बनेका हस्पिटलहरु धरासायी बन्ने हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए ।उनले शिक्षाका नाममा बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, फिलिपिन्स,रसिया लगायतका देशमा अध्ययनका नाममा विदेशीनु नपर्ने बताएका छन् । सरकारका कारण चिकित्सकहरुलाई खुलेर उपचारमा संलग्न हुन समस्या भएको पाइएको भन्दै यसले गर्दा विरामीले अनावश्यक रुपमा झन्जट बेहोर्नु परेको पाइएको छ ।
बिरामीलाई केही भइहालेमा डाक्टर नै जिम्मेवार हुनुपर्ने, अस्पतालमाथि तोडफोड लगायतका घटनामा वृद्धिभएपनि डाक्टरहरु डराउन थालेको जनाइएको छ । यसले गर्दा विरामीले अनावश्यक रुपमा दुःख पाइरहेका छन् । बीएण्डसी हस्पिटलका सञ्चालक तथा डाक्टरहरुले अनुगमनलाई तिब्रता दिन माग गरेका छन् । उनीहरुले ब्यक्तिगत स्वार्थका कारण मेडिकल कलेज सञ्चालनका लागी अनुमति नै नदिनु भने दुखद् भएको धारणा ब्यक्त गरेका छन् ।

