Aamsanchar

हत्यारालाई कार्वाहीको माग गर्दै बिर्तामोडमा चक्काजाम

Author Image
बिहिवार, कार्तिक ९, २०७४

बिर्तामोड।

अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै वुधवार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा चक्का जाम गरिएको छ ।
मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै चक्काजाम गरेका हुन् । बालकको हत्या भएको एक महिना बित्न लाग्दा समेत प्रहरीले घटनाको बास्तविकता सार्वजनिक नगरेको भन्दै बिर्तामोडस्थित मुक्ति चौकमा चक्काजाम गरिएको थियो ।
प्रहरीको कामप्रति नै असन्तुष्टि जनाउँदै मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालको सरुवाको माग गरेका थिए । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गरेका थिए । चक्काजामपछि ¥यालीमा सहभागीहरु बालकको हत्यामा संलग्न भनिएका आरोपी पोखरेल परिवारको घर घेराउका लागि बिर्तामोड–५ पाथीभरा टोला पुगेका थिए ।

गत असोज १४ गते भाइटीकाको दिन सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।
यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिले कात्तिक १० गते बिर्तामोड क्षेत्रमा आम हड्ताल गर्ने घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत अत्यावश्यकीय सेवाका साधन बाहेक सम्पूर्ण सवारी साधन चल्न नदिने, बिर्तामोड क्षेत्रका कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्था पूर्ण रुपमा बन्द गर्ने रहेका छन् ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर