Aamsanchar

नेता सिटौलालाई कार्यकर्ताको दबाब

Author Image
बिहिवार, कार्तिक ९, २०७४

भद्रपुर, 

झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन् ।

गृह जिल्ला झापा आइपुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकसित अगाडि बढाएको भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् ।

नेपालको परिवर्तनको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको स्मरण गर्दै नेपाली काँग्रेसका शुभचिन्तकहरुले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्पमा अर्को व्यक्ति नरहेको समेत स्पष्ट पारेका थिए ।

बिपीको समाजवादसहितको संघीय लोकतान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक समाजवादी विचार लिएर नेपाली काँग्रेसले देशमा आमूल परिवर्तन गर्न सफल भएको स्मरण गर्दै झापा क्षेत्र नं ३ का काँग्रेस कार्यकर्ताले भावी प्रधानमन्त्रीका रुपमा सिटौलालाई अगाडि आउने नेता भन्दै जनताको प्रत्यक्ष मतदानमा आउन अनुरोध गरेका छन् ।

कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै नेता सिटौलाले झापा क्षेत्र नं ३ बाट आफूले प्रत्यक्षमै उम्मेदवारी दिने धारणा राख्नुभयो । उहाँले आफ्नो उम्मेदवारी निजी स्वार्थका लागि नभई देश र जनताको सेवा गर्न तथा झापा क्षेत्र नं ३ का जनताको जनभावनाअनुरुप रहेको समेत बताउनुभएको थियो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर