Aamsanchar

तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने

Author Image
आइतवार, कार्तिक १२, २०७४

तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् । प्रजिअ तिवारीले आइतबार साँझसम्मको परिस्थिति हेरेर कर्फ्यु हटाउने तयारी गरिएको बताए । शनिबार साँझ नै कर्फ्यु हटाउने तयारी गरिए पनि परिस्थिति सामान्य बनिनसकेको भन्दै प्रशासनले कर्फ्युलाई यथावत राखेको छ । कर्फ्युका कारण जनजीवन प्रभावित बनेको छ । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको थियो । मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो । यसैबीच गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्य उच्चस्तरीय छानविनले आजबाट काम सुरु गरेको छ । छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवि अधिकारी र राष्ट्रिय अनुसंन्धान विभागका अनुसंन्धान निर्देशक हरिहर पौडेल रहेका छन् । समितिले बिर्तामोडमा घटेको घटनाको बारेमा अनुसन्धान गरी सात भित्र राय सुझावसहितको प्रतिवेदन गृहमा बुझाउनु पर्ने छ ।

घटनाको गहिरो अनुसन्धान सुरु गर्ने बताइएको छ । यसैबीच अहिले केहीबेरमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ । दलहरुले हिजो ८ बुदे सहमति गरेपनि स्थानीयबासीले आफुहरुको आन्दोलनमा दमन गरेको भन्दै दोषिलाई कडा कारबार्ही नभएसम्म नछाड्ने अडान लिएका छन् । उनीहरुले डिएसपी राजकुमार सिलवाललाई बर्खात गर्न माग गरेका छन् भने बालकको हत्या भएको दाबी गरेका छन् । त्यस्तै निदोष ब्यक्तिालाई गोलि हानी हत्या गरेको भन्दै सर्वसाधारणले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले राजनीतिक दल र जनप्रतिनिधिलाई घटना स्थलमा आएर जनतालाईै बुझाउन माग समेत गरेका छन् । कफ्यु जारी रहेका कारण बिर्तामोडका बजार पसल बन्द रहेका छन् भने शिक्षण संस्था समेत खुल्न सकेका छैन् ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर