Aamsanchar

सप्तरीलाई खुला दिसामुक्त बनाउने प्रतिवद्धता

Author Image
मङ्गलवार, कार्तिक १४, २०७४

राजविराज, 

सप्तरीलाई सन् २०१७ भित्र खुला दिसामुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीद्वारा आज राजविराजमा आयोजित एक कार्यक्रममा सप्तरीलाई सन् २०१७ भित्र प्रदेश नं २ को पहिलो जिल्लाको रुपमा खुला दिसामुक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएको हो ।

सप्तरीका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवम् कार्यकारी अधिकृत र सरसफाइ क्षेत्रमा काम गर्ने संघसंस्थालगायत सम्बन्धीत निकायका प्रतिनिधिले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

साबिकका ९१ गाविस तथा पाँच नगरपालिकामध्ये हालसम्म ५३ गाविस र एक नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेका छन् । कूल एक लाख १८ हजार ९१७ घरधुरी रहेको यस जिल्लाका लागि एक लाख पाँच हजार १० घरपरिवारले आ–आफ्नो घरमा चर्पी बनाइसकेको सबल नेपालका प्रमेश्वर झाले बताउनुभयो ।

सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे यो जिल्लालाई खुला दिसामुक्त बनाउन समाजका सबै पक्षको सक्रिय सहयोग र समन्वय आवश्यक रहेको छ भन्नुभयो ।

खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीका अध्यक्ष एवम् सप्तरीका निमित्त स्थानीय विकास अधिकारी मिलन दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । यसैगरी कार्यक्रममा गाउँपालिका तथा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर