दमक,

विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ । दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका लागि भारतको कोलकाता पुगेको हो ।

अध्ययन टोलीमा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, कार्यकारी अधिकृत युवराज दाहाल, दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेसहित विज्ञान शिक्षक तथा प्राविधिकहरु रहनुभएको छ ।

नगरपालिकाको सहयोगमा दुई वर्षअघिदेखि निर्माण शुरु गरिएको सो विज्ञान पार्कमा शुरुवात् ताका घेरावाराका केही काम सम्पन्न भइसकेका छन् । दमक नगरपालिकाका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले भारतमा पुगेको टोलीले त्यहाँ रहेका विज्ञानपार्कहरुको स्थलगत अवलोकन तथा अध्ययन गर्ने जानकारी दिनुभयो ।

उपप्रमुख अधिकारीले छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरमा निर्माण भएका विज्ञान पार्कको स्थलगतरुपमा अध्ययन तथा अनुगमन गरी सोहीअनुरुपका संरचना तथा पूर्वाधार निर्माण गर्न सघाउ पुग्ने बताउनुभयो ।

