इलाम,

जापानी संस्था एशिया फ्रेण्डसिप नेटवर्कले इलामका दुईवटा विद्यालयमा आठकोठे पक्की भवन बनाइदिने भएको छ । सूर्योदय नगरपालिकाको कृष्णाश्रम मावि कन्याम र रोङ गाउँपालिकाको सरस्वती मावि भालुझोडामा भवन बन्ने भएको हो ।

उक्त नेटवर्कका जापानी प्रतिनिधि मोमोको र नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले संयुक्तरूपमा ती विद्यालयको पक्की भवन शिलान्यास गर्नुभएको हो ।

जापानी नागरिक इजुमारो युजुरोको छोरीको २५ वर्षमा निधन भएको थियो । छोरीको स्मृतिमा जापानमा स्थापना गरिएको सो संस्थाले नेपालका विद्यालयमा सहयोग गर्दै आएको नेटवर्कका नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले बताउनुभयो ।

नेपालमा सो संस्थाले सन् १९९६ बाट सहयोग गर्दै आएको छ । नेटवर्कले नेपालको सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, नुवाकोट लगायतका जिल्लामा ८४ विद्यालय भवन निर्माण गरिसकेको छ । तत्कालीन सांसद झलनाथ खनालले पेश गरेको प्रस्तावअनुसार इलाममा पनि सहयोग गर्न लागिएको नेटवर्कका प्रतिनिधि मोमोकोले बताउनुभयो । आगामी १५ महिना भित्रमा सो भवन निर्माण भई विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

