झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको न्यू स्टार क्लबद्धारा आयोजित दोस्रो न्यू स्टार च्यालेन्ज कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्ला स्तरीय नटआउट फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न आठ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । भोलिदेखि आगामी काक्तिक २५ गतेसम्म हुने प्रतियोगितामा आयोजक न्यू स्टार क्लब (खोपबाडी), आर्दश युथ क्लब (बुधबारे), कांकरभिट्टा ट्रेनिङ सेन्टर, सैनिक युथ क्लब, बिर्तामोड युनाईटेड, शनिश्चरे एफसी, मुनाल क्लब(चन्द्रगढी) र झापा सन्थाल एफसी सहभागि हुने खेल आयोजक समितिका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुनेले नगद ५१ हजार र दोस्रो हुनेले नगद ३१ हजार प्रमाण पत्र, ट्रफि, शिल, मेडलहरु प्राप्त गर्ने आयोजक न्यू स्टार क्लबका अध्यक्ष बुद्धराज लिम्बुले जानकारी दिए । बिर्तामोड नगरपालिका–७ खोपबाडी स्थित सुन्दर डाँडामा हुने प्रतियोगितामा प्रथम पुरस्कार समाजसेवी रामकुमार कन्दङवाले प्रयोजन गरेका बताइएको छ । आफ्नी छोरी रञ्जना कन्दङवाको स्मृतिमा उनले प्रथम पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै दोस्रो पुरस्कार समाजसेवी तथा वडाध्यक्ष अयज कार्की(जंगे)ले प्रदान गर्ने घोषणा गरेको बताइएको छ । त्यस्तै प्रतियोगिताभर वितरण गरिने शिल्ड तथा ट्रफिहरु युवा ब्यवसायी दीपेन्द्र पोख्रेलले प्रदान गरेको आयोजकले जनाएको छ ।

खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा खेल आयोजक समितिका संयोजक घिमिरेले साढे ३ लाख रुपैंयाकोलगातामा खेल आयोजना गरेको र करिब ५ लाख रुपैंया संकलन गर्ने लक्ष्य लिएको बताए । उनले विभिन्न समाजसेवी तथा सुन्दर निचाझोडा सामुदायिक वनले समेत खेल आयोजनामा महत्वपूर्ण सहयोग गरेको जानकारी दिए । प्रयोगितामा म्यान अफदी म्याच, म्यान अफ द टुनामेन्ट, बेष्ट र्फवाड, वेष्ट गोल किपर, वेष्ट डिफेन्स, हाई स्कोरर लगाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


भोली हुने उद्घाटन खेलमा न्यू स्टार क्लब (खोपबाडी) र आर्दश युथ क्लब (बुधबारे) बीच हुने जनाइएको छ ।

