Aamsanchar

डेंगु जाँच्ने किटको अभाव

Author Image
शनिवार, कार्तिक १८, २०७४

[पार्थ मण्डल]
भद्रपुर, 

झापा जिल्लामा डेंगु रोगको संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा जनस्वास्थ्यसँग रगत परीक्षण गर्ने किटको अभाव भएको छ । जनस्वास्थ्यसंग डेंगु टेस्ट किट अभाव भएपछि स्वास्थ्य संस्थाबाट बिरामीहरु रगत परीक्षण नगरी फर्किनुपर्ने बाध्यता बनेको छ ।

बिर्तामोड नगर क्षेत्रबाट गत असोज महिनादेखि झापामा डेंगु रोग संक्रमणका बिरामी फेला पर्ने थालेको हो । झापामा डेंगु रोगका बिरामी फेला पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मेची र दमक अस्पतालसहित आफ्ना मातहतका स्वास्थ्य केन्द्रमा निःशुल्क रगत परीक्षण गर्न किट प्रदान गरेको थियो ।

असोज ६ गते ३ सय किट खरिद गरिएको जनस्वास्थ्यका डेंगु रोग नियन्त्रण शाखाका फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार जनस्वास्थ्य कार्यालय, मेची अञ्चल अस्पताल भद्रपुर, क्षयरोग निवारण संस्था भद्रपुरमा रहेको जनस्वास्थ्यको ल्याव, दमक अस्पताल, सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, अनारमनी, शनिश्चरे, धुलावारी, काँकरभिट्टा हेल्थ पोष्टमा रगत परीक्षणका लागि किट पठाएको थियो । डेंगु रोगको लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पूर्जा हेरेर मात्र बिरामीको रगत परीक्षण गराउँदै आएको फोकल पर्सन पौडेलले बताए ।

तर, झापामा अहिले मेची अस्पतालसहित अधिकांश हेल्थ पोष्टमा डेंगु टेष्ट किटको अभाव भएको छ । जनस्वास्थ्यसंग रहेको किट सकिएपछि परीक्षणका लागि जाने बिरामी त्यत्तिकै फर्किन बाध्य छन् । मेची अञ्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेंगु रोग परीक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यको ल्याबमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्याबमा किट छैन ।

अस्पातलका चिकित्सकले दिनमा ३०देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताए । अहिलेसम्म यस ल्यावमा डेंगु र मलेरिया गरी लगभग ५ सय बिरामीको परीक्षण गरिसकेको उनले बताए । ल्यावमा तीन दिनदेखि किट नभएपछि बिरामीलाई चिकित्सकले लेखेको पूर्जामा प्लेटलेट एक लाख भन्दा कम भएमा मात्र परीक्षण गर्न र नत्र पूर्जा हेरेर फर्काइदिने जनस्वास्थ्यबाट जानकारी आएपछि सोही अनुसार काम गर्दै आएको उनले बताए ।

झापामा अहिले डेंगु टेष्ट किट अभाव रहेको फोकल पर्सन पौडेलले स्वीकारे । उनका अनुसार खरिद गरिएको ३ सय किट सकिएको छ । एउटा किटको मूल्य ५ सय रुपैयाँ पर्ने भएकोले केही समस्या छ । तर पनि झापाका लागि ४ सय किट खरिद प्रक्रियाबाट माग गरिसकेका छांै । दुई सय किट आइपुगेको छ भने दुई सय अझै बाँकी रहेको उनले बताए ।

अहिले मेची, जनस्वास्थ्यको ल्याव र अनारमनीमा किट अभाव रहेको जानकारी प्राप्त भएको उनले बताए । झापामा ५ सय १३ जना डेंगु रोग लागेका बिरामी फेला परिसकेको छन् भने अर्जुनधारामा एक जनाको मृत्यु भइसकेको जनस्वास्थ्यले जनाएको छ । डेंगु रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले धुवा छर्किने अभियान सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर