Aamsanchar

इलाममा चुनावी प्रतिष्पर्धा रोचक

Author Image
शनिवार, कार्तिक १८, २०७४

इलाम, 

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री तथा सांसद केशव थापा इलामबाट चुनावी मैदानमा उत्रिनुभएको हो ।

वाम गठबन्धनबाट खनाल इलाम क्षेत्र नं १ बाट र नेम्बाङ क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा हुनुहुन्छ । नेपाली काँग्रेसका पूर्वसभापति समेत रहनुभएका थापा इलाम क्षेत्र नं २ मा चुनाव लड्दै हुनुहुन्छ ।

यसअघिको निर्वाचनमा तीन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ बाट खनाल, क्षेत्र नं २ बाट सुवास नेम्बाङ र क्षेत्र नं ३ बाट केशव थापा विजयी हुनुभएको थियो । त्यसअघि थापा क्षेत्र नं २ मा नेम्बाङसँग पराजित हुनुभएको थियो ।

क्षेत्र नं १ बाट खनाल लगातार पाँचपटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसक्नुभएको छ ।

खनालसँग यसपटक नेपाली काँग्रेसबाट पूर्वसभापति भूपेन्द्र कट्टेल मैदानमा हुनुहुन्छ । कट्टेल पहिलोपटक प्रतिनिधि सभामा सदस्य हुनको लागि निर्वाचनमा होमिनुभएको हो । खनालसँगै प्रतिष्पर्धा गर्न २७ वर्षीय युवा सचेन घलेले विवेकशील पार्टीबाट मनोनयन दर्ता गराउनुभएको छ । घले दुई वर्षदेखि विवेकशील पार्टीमा सक्रिय हुनुहुन्छ ।

इलाम क्षेत्र नं २ बाट प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ प्रतिष्पर्धामा हुनुहुन्छ । नेम्बाङसँग प्रतिष्पर्धा गर्न नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वराज्यमन्त्री केशव थापा हुनुहुन्छ । पहिले निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचन लड्नुभएका थापा यसअघिको निर्वाचनमा नेम्बाङसँग पराजित हुनुभएको थियो ।

प्रदेश सभातर्फ क्षेत्र नं १ को (क) मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र काँग्रेसबाट हालै संघीय समाजवादी फोरम नेपाल परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएका देवेन्द्र राईले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । क्षेत्र १ को (ख) मा गठबन्धनबाट एमालेका काजीमान कागते र काँग्रेसबाट दुर्गा बराल चुनाव लड्दै हुनुहुन्छ ।

प्रदेशतर्फ नै क्षेत्र नं २ को (क) मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग काँग्रेस कोषाध्यक्ष डम्बर खड्काले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । क्षेत्र २ को (ख) मा भने गठबन्धनबाट माओवादीका धीरेन शर्मा र काँग्रेसका सचिव खगेन्द्र देवानबीच प्रतिस्पर्धा हुँदैछ ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर