Aamsanchar

चुनावको कारण डेंगु ओझेलमा

Author Image
आइतवार, कार्तिक १९, २०७४

विर्तामोड।

झापामा डेंगु रोग महामारीको रुपमा फैलिरहेको अवस्थामा निर्वाचनका कारण यसको प्रभावकारी नियन्त्रण र सचेतनाको कार्यक्रम नै ओझेलमा परेको छ ।

झापाको बिर्तामोड, दमक, भद्रपुर लगायतका क्षेत्रहरुमा डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि काम शुरु भएलगत्तै निर्वाचनका कार्यक्रमहरु आरम्भ भएकाले यो प्रभावित भएको हो । ४ सयभन्दा बढी डेंगुका संक्रमण भेटिएपछि बिर्तामोड नगरपालिकाले यसबिरुद्ध अभियान शुरु गरेको थियो ।

निर्वाचनका कार्यक्रमहरुले खासै केही असर नगर्ने सरोकारवालाहरुले बताए पनि कर्मचारी तथा जनप्रतिनिधि सबै निर्वाचन केन्द्रित कार्यक्रममा नै व्यस्त भएकाले अभियान कमजोर बन्दै गएको हो । भद्रपुरमा पनि डेंगुको संक्रमणलाई न्यूनीकरण गर्न औषधि छिट्ने अभियान निरन्तर चलाउन शुरु गरिएको थियो ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले डेंगु रोगको सक्रमण रोक्नका लागि आफैं लागेर लामखुट्टे नष्ट गर्ने अभियान चलाइएको बताए ।

निर्वाचनको कार्यक्रमहरुमा सबैको ध्यान जानु स्वभाविक भएको बताउँदै उनले थप प्रभावकारी रुपमा डेंगु रोक नियन्त्रणको अभियानमा लाग्ने बताए ।
दमकमा गतबर्ष महामारीको रुपमा फैलिएको डेंगु अहिले झापा जिल्लाभर देखिएको छ । दमकमा पनि फाट्टफुट्ट डेंगुको संक्रमण देखिएको बताउँदै यसलाई रोक्नका लागि सबै उपाय अवलम्बन गर्न शुरु गरिएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । रातको समयमा समेत औषधि छर्कने लगायतका कामहरु भइरहेको उनले जानकारी दिइन् ।

दमक नगरपालिकाका स्वास्थ्य बिभाग प्रमुख जीवन चौलागाँईले निर्वाचनका कारण केही प्रभाव परेको स्वीकार गरे । निजी अस्पतालहरुमा उपचारका लागि आउने बिरामीहरुको तथ्याङ्क लिने काम गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर