Aamsanchar

झापामा ‘हेभिवेट’ उम्मेदवार

Author Image
आइतवार, कार्तिक १९, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड। 

आगामी मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि झापाबाट प्रमुख पार्टीका हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रबाट हेभीवेट उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा कडा हुने देखिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, युवा नेता विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन, पूर्वसञ्चारमन्त्री एवम् माओवादी नेता सुरेन्द्रकुमार कार्की विभिन्न स्थानबाट उम्मेदवार बनेपछि झापामा चुनावी माहोल तातेको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापा, निर्वतमान उपसभापति देउमान थेवे, डा. खगेन्द्र अधिकारी, एमालेका एलपी साँवा, पवित्रा निरौला खरेल लगायतका पछिल्लो पुस्ताका नेताहरु समेत चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभाका लागि पार्टीका शीर्ष नेताहरु प्रतिस्पर्धामा उत्रिएपछि केही केन्द्रीय नेताहरु प्रदेशसभाका उम्मेदवार बनेका छन् । संघ र प्रदेश दुवैमा हेभीवेटकै उम्मेदवारीले जिल्लास्तरीय नेताहरु भने खिन्न देखिएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार बनेपछि उनले चुनावी अभियानलाई तीब्र बनाएका छन् । अध्यक्ष ओलीले क्षेत्र नं. ५ (साविक ६ र ७) बाट ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । ०७०सम्म लगातार ५ पटक चुनाव लडेका ओलीले ०६४को पहिलो संविधानसभा चुनाव मात्र गुमाएका थिए । त्यस्तै क्षेत्र नं. ३मा कांग्रेस नेता सिटौलाले पनि ०४८ बाटै चुनाव लड्दै आएका छन् ।

उक्त क्षेत्रबाट उपनिर्वाचनसहित ६ पटक चुनाव लडेका सिटौला तीनपटक निर्वाचित भएका थिए । क्षेत्र नं. १मा कांग्रेस युवा नेता शर्मा दोस्रो संविधानसभा चुनावमा एमालेका रवीन कोइरालासँग पराजित भएका थिए । तर, पराजित भएर पनि राष्ट्रिय राजनीतिमा उनको सक्रियता, प्रभावपूर्ण भाषणशैलीका कारण पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित एवम् सो क्षेत्रमा पर्ने दुवै स्थानीय तहमा कांग्रेसको नेतृत्व ल्याउन सफल भएकोले कांग्रेसले क्षेत्र नं. १बाट उनैलाई उम्मेदवार बनाएको छ । उनीसँग बाम गठबन्धनको रुपमा साझा उम्मेदवार बनेका माओवादी केन्द्रका सुरेन्द्र कार्की मैदान उत्रिएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका कार्कीसँगको भीडन्त रोचक बन्ने आँकलन गर्न थालिएको छ । पछिल्लो दुई वटा चुनावलाई हेर्ने हो भने जिल्लामा माओवादी केन्द्रको प्रभाव कम देखिन्छ ।

उसले पछिल्ला दुवै चुनावमा कुनै क्षेत्रमा पनि जित्न सकेको छैन । क्षेत्र नं. ४ साविकको ५बाट लगातार दुवै संविधानसभा चुनाव जितेका सांसद केशवकुमार बुढाथोकी नउठ्ने भएपछि कांग्रेसले निर्वतमान जिल्ला उपसभापति देउमान थेवेलाई मैदानमा उतारेको छ । सो क्षेत्रबाट यसपटक पनि एमालेले लालप्रसाद (एलपी) सावाँलाई नै उम्मेदवार बनाएको छ । उनलाई यसपटक माओवादी केन्द्र र राप्रपाले पनि साथ दिएको छ । दोस्रो संविधानसभा चुनावमा कडा प्रतिस्पर्धामा उत्रिएका साँवा यसपटक पनि उम्मेदवार बनेका कारण कांग्रेस नेतृत्व उक्त क्षेत्र गुम्ने त्रासमा देखिएको स्रोतले जनाएको छ ।

क्षेत्र नं. ३मा कांग्रेसपछि दोस्रो स्थानमा राप्रपाको उपस्थिति देखिएपछि बाम गठबन्धनले कांग्रेसका पूर्वमहामन्त्री समेत बनेका कृष्ण सिटौलाबिरुद्ध राप्रपाका प्रभावशाली नेता तथा महामन्त्री राजेन्द्र लिङ्देनलाई साझा उम्मेदवार बनाएपछि त्यहाँको निर्वाचनलाई केन्द्रीय स्तरबाटै नजिकबाट हेरिएको छ । यसले राजनीतिक रुपमा निकै तरंग ल्याउने विश्लेषण गर्न थालिएको छ । राजनीतिक भविष्य बलियो बनाउन लिङ्देनले उक्त क्षेत्रबाट चुनाव लडेको विश्लेषकहरुको भनाइ छ ।

प्रदेशसभातर्फ जिल्ला र केही केन्द्रीय नेताले ठाउँ ओगटेका छन् । प्रतिनिधिसभातर्फ हेभिवेट नेताहरु नै चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन आयोगले (आज) आइतबार अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरेपछि निर्वाचन गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउने योजनामा दलका नेता तथा उम्मेदवारहरु रहेका छन् । झापाको राजनीतिले केन्द्रमा समेत ठूलै असर गर्ने भएकाले सबै दल आफ्नो बिरासत जोगाउने दाउमा रहेका छन् । झापामा एमाले, माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेपछि कांग्रेसलाई निकै ठूलो असर पर्ने आँकलन समेत गर्न थालिएको छ ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर