झापा,
अस्पताल लगिएका थुनुवा शौचालयबाट फरार भएपछि झापाका चार प्रहरी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक राजन खड्कासहित एक हवल्दार र दुई प्रहरी जवान कारबाहीमा परेका हुन्।
प्रहरी संरक्षणबाटै थुनुवा भागेपछि संगठनको नीति तथा कानुनअनुसार ४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। चारै जनालाई हिरासतमा राखिएको छ। उनीहरुलाई आइतबार झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी झापा कारागार चलान गरिने एसपी केसीले जानकारी दिए।
जबरजस्तीकरणीको अभियोगमा पक्राउ परेका भद्रपुर नगरपालिका– ५ निवासी २० वर्षीय रोशन माझी शुक्रबार बेलुका साढे ८ बजे मेची अञ्चल अस्पातल भद्रपुरबाट फरार भएका थिए। पेट दुख्यो भनेपछि अस्पातल लगिएका माझी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका हुन्। माझीको खोजी भइरहेको छ।
उनी भारततर्फ भागेको हुनसक्ने आशंकामा प्रहरीले भारतीय प्रहरीसमेतको सहयोगमा खोजी गरिरहेको एसपी केसीले जानकारी दिए। गत कात्तिक ४ गते भाइटीकाको दिन माझीले छिमेकी ६ वर्षीया एक बालिकालाई ज्यान मार्ने धम्की दिँदै जबरजस्तीकरणी गरेका थिए।
पीडित परिवारले उजुरी दिएपछि उनलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको थियो। जबरजस्तीकरणीसम्बन्धी मुद्दा चलाई उनीमाथि अनुसन्धान भइरहेको थियो।