Aamsanchar

राप्रपाको घोषणापत्रमा राजतन्त्र र हिन्दुराष्ट्रको कुरा

Author Image
मङ्गलवार, कार्तिक २१, २०७४

काठमाडौं :

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार ललितपुरको होटल हिमालयमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा दावी गरेको छ।

मुलुकले २०६२/६३ देखि लिएको बाटो नै गलत भएकाले मुलुकमा विभिन्न संकट देखिएको भन्दै राप्रपाले प्रमुख राजनीतिक दलले अहिलेको संकटबाट पार लगाउन नसक्ने जिकिर गरेको छ। ‘प्रमुख भनिने राजनीतिक दल नै विद्यमान संकटको कारण हो, त्रुटीपूर्ण मार्गचित्रका कारण ती दलहरुले संकटबाट पार लगाउन सक्दैनन्’ घोषणापत्रबारे अध्यक्ष थापाले भने ‘त्यसैले जनताले विकल्प खोजेका छन्, राप्रपा त्यसको विकल्प हो र बन्न चाहन्छ।’

प्रमुख दलले राज्यका सबै संयन्त्रलाई पार्टीकरण र राजनीतिककरण गरेको भन्दै अध्यक्ष थापाले ती दलहरु अवसरवाद, भ्रष्टाचार र गुटबन्दीमा नराम्ररी फसेको पनि बताए। राप्रपा परिवर्तन विरोधी नभइ निरन्तरतासहितको प्रजातन्त्रको पक्षमा रहेको भन्दै उनले २००७, २०४६ र २०६२/६३ को जनआन्दोलनको म्यान्डेट अनुसार नै अघि बढेको दावी गरे।

थापाले २००७ सालको प्रजातन्त्र, २०४६ सालको संवैधानिक राजतन्त्र र २०६२/६३ सालको समावेशी सिद्धान्त र सामाजिक न्यायलाई राप्रपाले आत्मसात गरेको पनि जिकिर गरे। राजा महेन्द्रको राष्ट्रवाद र जननायक बीपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिलाई राप्रपाको विचारको मूलस्रोत रहेको थापाले बताए।

मुलुकमा नयाँ संविधान बनेको र गणतन्त्र संस्थागत भएकोप्रति राप्रपा सचेत रहेको भन्दै अध्यक्ष थापाले गणतन्त्रवादीलाई समेत स्वीकार हुने राजतन्त्र आफूहरुको एजेण्डा रहेको उनले बताए।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर