Aamsanchar

लालबाबु पंण्डित भन्छन चुनाव खर्च छैन तर जनताले विजयी गराउने आशामा छु

Author Image
बुधवार, कार्तिक २२, २०७४

नेकपा एमालेका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनेका लालबाबु पण्डितले आफु आत्मविश्वासी र सदाचारी भएकोले जनताले विजयी गराउने दाबी गरेका छन् । मंगलबार विराटनगरमा प्रेस सेन्टर र प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले सो कुरा बताएका हुन् ।

नेता पण्डितले नेपाललाई माया गर्ने र सुशासन रुचाउनेहरुले आफूलाई मत दिने दाबी गर्दै मधेसी, पहाडी र मुस्लिम सबै समुदायले आफुलाई माया गरेर जिताउने दाबी गरे ।
पूर्वमन्त्री समेत रहेको नेता पण्डितले चुनाव लड्नका लागि आफुसँग खर्चको अभाव रहेकोले आफ्नै क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट आफु चुनाव लड्ने तयारीमा रहेको बताए । उनले आफुसँग पैसा नभएकोले अरुको सहयोग लिनुपरेको दाबी गरे ।

नेता पण्डितले भने, ‘०४८ सालमा म ३० हजार रुपैयाँले चुनाव लडेको थिएँ, ०५१ सालमा ७० हजार पुग्याथियो । ०५६ सालमा साढे ३ लाख खर्च भएको थियो, अहिले सहयोगको कुरा गर्नुहुन्छ भने कतारमा नेपाली सय रुपैयाँ मजदुरहरुले उठाउन थाल्याछन्, लालबाबु पण्डितलाई म सहयोग गर्न तयार छु भनेर ।’ नेता पण्डितले ठट्यौली पारामा उपस्थित पत्रकारहरुलाई पनि आर्थिक सहयोग गर्न आग्रह गरेका थिए । पण्डितले आर्थिक सहयोग माग्दा पत्रकारहरु र पण्डितबीच केहीबेर ठट्यौली चलेको थियो ।

नेता पण्डितले यसबेला मोरङको सो क्षेत्रमा कांग्रेस नेता डा.शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् । उनले मधेस आन्दोलनका घाइतेहरुको उद्धारमा आफु सक्रिय रहेको समेत स्पष्ट पारे ।

उनले मधेस समृद्ध हुनुपर्छ भन्ने आफ्नो अडान दोहोर्याउँदै मधेस अलगै हुनुपर्छ भन्ने नाराको विरोधी भएको प्रष्टोक्ति दिए । मोरङ–६ मा एक लाख, दश हजार, तीन सय मतदाता रहेका छन् । कांग्रेसका नेता कोइराला र पण्डितबीचको चुनावी भीडन्त रोमाञ्चक हुने देखिदैछ ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर