Aamsanchar

शौचालयबाट फरार थुनुवा पाँच दिनपछि भारतमा पक्राउ, प्रहरीको जागिर जोगियो !

Author Image
बुधवार, कार्तिक २२, २०७४

झापा ।

अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई पाँच दिनपछि भारतीय प्रहरीको सहयोगमा बुधवार विहान भारतबाट पक्राउ गरिएको छ ।

बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझी गत शुक्रवार साझँ ८ बजे मेची अञ्चल अस्पताल भद्रपुरको शौचालयबाट फरार भएका थिए । पेट दुखेर अस्पातल लगिएका थुनुवा माझी अस्पतालको आकस्मिक कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए ।

फरार भएका थुनुवा माझी भारतको विहार तर्फ भागेको सूचना आएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसंग सहकार्य गरेका थिए । गलगलिया प्रहरी चौकीको सहयोगमा माझीलाई किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्जमा रहेको उनको फुपुको घरबाट विहान ८ बजे पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई गलगलिया थानाध्यक्ष अरिवन्द्र कुमार र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार विहान भद्रपुर सीमा सम्म लिएका थिए । भारतीय प्रहरीको संरक्षणमै भारतीय गाडीमा हालेर नेपाल ल्याइएका माझीलाई प्रहरी कार्यालय झापाको टोलीले बुझेर जिल्ला लगेको छ । यता फरार माझीलाई प्रहरी कार्यालयमा राखेर थप आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बिष्णुकुमार केसीले जानकारी दिनुभयो ।

उनलाई जबरजस्ती करणी मुद्दा दर्ता गराई झापा अदालतबाट म्याद थप भइसकेकोले अव संक्षिप्त कार्यविधि अनुसार छिटो फैसला सुनाएर कारगार चलान गरिने प्रहरी उपरिक्षक केसीले बताउनुभयो । गत कार्तिक ४ गते भाईटीकाको दिन माझीले छिमेकी ६ बर्षिय एक बालिकालाई ज्यान मार्ने धम्की दिदै जबरजस्ती बलात्कार गरेका थिए । पिडित बालिकाका परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट पक्राउ गरेको थियो । माझी पेशाले ट्याक्टर चालक हुन् ।

चार प्रहरीको जागिर जोगियो !
अस्पतालको शौचालयबाट थुनुवा फरार भएपछि चार प्रहरी कारवाहीमा परेका थिए । प्रहरी कार्यालय झापाबाट अस्पताल उपचार गराउन लगिएका माझीको सुरक्षामा खटिएका चार प्रहरी कारवाहीमा परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक राजन खड्कासहित एक हवल्दार र दुई प्रहरी जवान गरी चार जना कारवाहीमा परिसकेका छन् । उनीहरुलाई कारागार ऐन अनुसार ६ महिना कैद र दुई सय रुपैया जरिवाना तोकिएर प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । फरार भएका थुनुवा फेला परेपछि चार प्रहरीको जागिर जोगिएको छ ।

जागिर जोगिएपनि कारागार ऐन अुनसार कारवाही हुने प्रहरी उपरिक्षक केसीले बताए । चार प्रहरीलाई कारवाही कस्तो हुने भनि अन्तिम निर्णय झापा अदालतल गर्ने उनले बताए ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर