विराटनगर,

मोरङमा दश प्रतिशत भन्दा पनि कम महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि र प्रदेश सभा गरी उठेका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला छन् ।

छवटा संसदीय क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मात्र तीन महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् । प्रतिनिधि सभाका लागि ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । छवटा संसदीय क्षेत्रमध्ये प्रतिनिधि सभाका लागि क्षेत्र नं २, ५ र ६ बाट मात्र महिला उठेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

तीमध्ये मोरङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारको रुपमा कल्पना विमली उठ्नुभएको छ । त्यस क्षेत्रका १२ उम्मेदवारमध्ये उहाँ एक्लो महिला हुनुहुन्छ । त्यस्तै, क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा अनिताकुमारी ढकाल देखिनुभएको छ । त्यस क्षेत्रबाट सातजना चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं ६ बाट नयाँशक्ति पार्टीका विमला अर्याल चुनावी मैदानमा हुनुहुन्छ । त्यस क्षेत्रबाट १० जना चुनावी मैदानमा देखिएका छन् । प्रतिनिधि सभाका लागि नयाँ शक्ति पार्टीले मात्र यहाँ महिला उम्मेदवारलाई उठाएको छ । मोरङमा प्रदेश सभाअन्तर्गत १२ वटा क्षेत्र रहेको भए पनि मात्र आठ महिला चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं १ ‘क’बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती र ‘ख’ बाट राजपाका शशी राई हुनुहुन्छ भने क्षेत्र नं २ ‘ख’ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)बाट गोमा कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं ३ ‘क’बाट नेकपा (माओवादीकेन्द्र) का गीता तिम्सिना र क्षेत्र नं ४ ‘क’ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) का रुपादेवी राजवंशी हुनुहुन्छ ।
क्षेत्र नं ५ ‘ख’बाट स्वतन्त्र रुपमा जसवी मण्डल पनि निर्वाचनमा होमिनु भएको छ । क्षेत्र नं ६ ‘क’ बाट संघीय समाजवादी फोरमबाट नीरा भगत र ‘ख’ बाट मंगोल नेशनल अर्गनाइजेशनबाट लालकुमारी राई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

