नेत्रविक्रम विमली 

काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिहं बस्न्यात विवादित बनेका छन् । अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कन हालै दूतावासले प्रकाशन गरेको सार्वजनिक सूचनाको विषयलाई लिएर राजदूत विवादित बनेका हुन् । मलेसियामा कार्यरत नेपाली श्रमिक तथा संघसंस्थाका प्रतिनिधि राजदूत बस्न्यातको कदमको आपत्ति जनाउँदै विरोधमा उत्रिएका छन् ।

यही नोभेम्वर ३ तारिख दूतावासले मलेसियामा कार्यरत अवैधानिक नेपाली श्रमिकलाई स्वदेश फर्कन सूचना जारी गरेपछि राजदूत विवादमा तानिएका हुन् । कमिसनको खेलमा राजदूत बस्न्यातले उक्त सूचना जारी गरेर नेपाली श्रमिकमाथि अन्याय गरेको भन्दै मलेसियामा कार्यरत श्रमिकदेखि विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाल संघ मलेसियाका पदाधिकारीले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।
राजदूत बस्न्यातले स्थानीय हार्फासे रिसोर्स कम्पनीसँग करोडौं कमिसन लिएर श्रमिकमाथि नै अन्याय गरेको उनीहरूको आरोप छ ।

यता दूतावासले भने नेपाल फर्कन चाहने अवैधानिक श्रमिकहरू फेरि पनि दलालको चंगुलमा नफसून् भनेर ‘स्वदेश फिर्ती’ का लागि सूचना जाारी गरेको दाबी गरेको छ । स्वदेश फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरूले स्थानीय कम्पनी हार्फासे रिसोर्समार्फत प्रक्रिया अघि बढाउन दूतावासले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
दूतावासले हार्फासेसँग गरिएको नयाँ सम्झौताले नेपाल फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरूले सेवाशुल्कको नाममा बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल फर्कन चाहने श्रमिकले जरिवानासहित करिब ३५ हजार नेपाली रुपैयाँ लाग्नेमा (१३५० मलेसियन रिंगेट) लाग्नेमा दूतावासको सम्झौतापछि श्रमिकले सेवा शुल्कको नाममा थप १७ हजार ६ सय २८ रुपैयाँ (६७८ रिंगेट) आर्थिक भार व्यहोर्नुपर्ने भएको छ ।
ट्राभल डकुमेन्टका लागि १६० रिंगेट, हवाई टिकट करिब आठ सय रिंगेट, मलेसिया सरकारलाई तिर्नुपर्ने जरिवाना शुल्क चार सय रिंगेट स्वदेश फर्कने चाहने श्रमिकले बुझाउनुपर्नेमा दूतावासको सम्झौताको पछि ६७८ रिंगेट भार थपिएको हो । आफ्ना नागरिकमाथि आर्थिक भार थोपारेर दूतावास कमिसन र आर्थिक अनियमिततामा फसेको भन्दै राजदूत बस्न्यातको विरोध भएको हो ।
राजदूतले कमिसनको खेलमा सेवाशुल्कको नाममा हार्फासेलाई ६७८ रिंगेट बुझाउनु पर्ने बाध्यकारी अवस्थाको सृजना गरेको नाम नबताउने सर्तमा दूतावासका एक कर्मचारी बताउँछन् । नेपाली मेनपावर कम्पनीहरूलाई कालोसूचीमा राख्ने धम्की दिएर राजदूत बस्न्यातले करोडौं रुपैयाँ लिएको ती कर्मचारीको आरोप छ ।
पटक पटक विवादास्पद काम गरेको आरोप खेप्दै आएका राजदूत बस्न्यातविरुद्ध यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दा परेको थियो । गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनए मलेसियाका तत्कालीन सचिव सुनील चालिसेलगायतले राजदूत बस्न्यातविरुद्ध सर्वाेच्च अदालतमा ३६ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेका थिए । अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
पत्रपत्रिका नै बन्द गराए
राजदूतको हैसियतमा मलेसिया पुगेपछि बस्न्यातले पहिलो टार्गेट नै सञ्चारमाध्यमलाई बनाएका थिए । उनले केही महिनामै ६ वटा साप्ताहिक नेपाली पत्रिकाको प्रकाशन नै बन्द गराएका थिए । मलेसियाको गृह मन्त्रालयलाई पत्राचार गरी पत्रिकाको प्रकाशन बन्द गराएका उनले मलेसियमा प्रकाशन हुने नेपाली पत्रिकाले काम गर्न अप्ठेरो परेको भन्दै मलेसियन गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।
नेपाल सरकारले अर्को व्यवस्था नभएसम्म मलेसियाका लागि राजदूतमा बस्न्यातलाई यथावत् नै राख्ने निर्णय गरेको एक हप्ता बित्न नपाउँदै उनले अवैधानिक कामदार घर फिर्तीको नाममा कमिसनको खेलमा लागेको त्यहाँ कार्यरत श्रमिकहरूको आरोप छ । राजदूत बस्न्यातले आतंककारीको आरोप लगाएर नेपाल फर्काएका एनआरएनका पूर्वअध्यक्ष महेन्द्रजंग शाह निर्दाेष प्रमाणित भएर हाल मलेसियामै व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
बस्न्यात राजदूत भएपछि कहाँ कति बढी शुल्क तिर्नु प¥यो ?
कमिसनको खेलमा लाग्ने गरेको आरोप खेप्दै आएका राजदूत बस्न्यातकै मिलेमतोमा मलेसिया जानेक्रममा नेपाली श्रमिकले विभिन्न शीर्षकमा अनावश्यक शुल्क बुझाउनुपर्ने अवस्था रहेको मेनपावर व्यवसायीहरूले बताएका छन् ।
कुन शीर्षमा कति बुझाउनुपर्ने
१, मेडिकल– २६ सय २५ रुपैयाँबाट वृद्धि गरी चार हजार पाँच सय पुर्याएको
२ जीएसजी– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)
३. माइग्रेन्स– ३० अमेरिकी डलर (थप गरिएको शीर्षक)
४. ओएससी– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)
५. भीएलएन– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)

