Aamsanchar

छोरीको स्मृतिमा ५१ हजार पुरस्कार, न्यू स्टारलाई उपाधि

Author Image
शनिवार, कार्तिक २५, २०७४

बिर्तामोड।

बिर्तामोड– ७ खोपबाडीमा सञ्चालित दोस्रो न्यू स्टार च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यू स्टार क्लवले जितेको छ ।

न्यू स्टार क्लवद्वारा आयोजित जिल्लास्तरीय नकआउट प्रतियोगिताको  शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लवलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । न्यू स्टारको तर्फबाट उपाधिका लागि सनम लिम्बू र सोना लिम्बूले एक(एक गोल गरेका थिए । प्रतियोगिताको विजेता न्यू स्टारलाई ५१ हजार नगद, टूफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम पुरस्कार ५१ हजार नगद बिर्तामोड(बुट्टाबारीका समाजसेवी रामकुमार कन्दङ्वाले आफ्नी छोरी स्वर्गीय रञ्जना कन्दङ्वाको स्मृतिमा प्रदान गरेका हुन् । रञ्जनाको युवा उमेरमै केही वर्षअघि निधन भएपछि उनको स्मृतिमा समाजसेवी रामकुमारले विभिन्न कार्य गर्दै आएका छन् ।

कार्यक्रममा बोल्दै कन्दङ्वाले शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहार्य भएको भन्दै देशलाई चिनाउने खेलाडी झापाले उत्पादन गर्नुपर्नेमा जोड दिए । खेलमा सफलताका लागि लगनशीलता र अनुशासन जरुरी हुने बताउँदै युवाले सञ्चालन गरेका रचनात्मक अभियानमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रतियोगिताको उपविजेता बिर्तामोड युनाइटेड क्लवलाई ३१ हजार नगद, टूफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको म्यान अफ द म्याच न्यू स्टारका सनम लिम्बू, बेस्ट किपर न्यू स्टारका सबिन लिम्बू, बेस्ट डिफेन्स न्यस् स्टाका सनम राई, बेस्ट फरवड बिर्तामोड युनाइटेडका योगेश गुरुङ तथा म्यान अफ द सिरिज न्यू स्टारका सन्जोग राई र हाइ स्कोरर न्यू स्टारका सोना लिम्बू, बेस्ट मिड फिल्डर न्यू स्टारका इसुप थपलियालाई नगद, टूफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले खेलकुदको विकाससँगै देश विकासमा युवाशक्ति लाग्नुपर्ने बताइन् । आयोजक क्लवका अध्यक्ष बुद्धराज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पूर्व अध्यक्ष कृष्ण लिम्बू लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन मदन भण्डारीले गरेका थिए । कात्तिक १८ गते शुरु भएको प्रतियोगितामा जिल्लाका ८ वटा फुटबल टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर