Aamsanchar

झापा मतदाताको माग : हुलाकी राजमार्ग र नदी नियन्त्रण

Author Image
आइतवार, कार्तिक २६, २०७४

भद्रपुर,

आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती भारतीय बजार दीघलबैंकसँग जोडेर सडक निर्माण गरी सरकारले भन्सार कार्यालय स्थापना गर्नसके उत्तः क्षेत्रमा व्यापार व्यवसाय बढ्ने स्थानीय व्यापारी मनोज गणेश बताउनुहुन्छ ।

आदिवासी, जनजाति, पिछडा वर्ग, मुस्लिम जातिको बाहुल्यता रहेको सो क्षेत्रमा गरिबी व्याप्त छ । कन्काई, बिरिङ र सानो माइमा वर्षेनी आउने बाढी र त्यसबाट हुने कटानका कारण किसानले धनजनको नोक्सानी व्यहोदै आएका छन् । स्थानीयवासीले कटान रोकथामको पहल गर्न यहाँ प्रचारप्रसारका लागि आउने विभिन्न दलका उम्मेवारसँग माग गरिरहेका छन् ।

“हाम्रा प्रमुख माग यिनै हुन्,” झापा गाउँपालिका–४ की लखी गणेशले भन्नुभयो । बाढीले खेत कटान, बालीनाली नष्ट र सडक बाटो तथा पुलपुलेसा बगाउने गरेको छ । बाटोको असुविधाका कारण आगलागी भएको अवस्थामा समयमै बारुणयन्त्र पु¥याउन कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

बाढीबाट अत्यधिक जोखिम व्यहोरिरहेका टाघनडुब्बा र कुमरखोदका बासिन्दासँग तीन वटा नदीको जलाशयले टापुमा बस्नुपर्ने पीडा छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले यी मागसँगै बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने उम्मेदवारसँग माग गरिरहेका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ काँग्रेसका देउमान थेवे, वाम गठबन्धनका तर्फबाट एमालेका लालप्रसाद ९एलपी० सावासहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’ मा काँग्रेसका किरण भट्टराई, वाम गठबन्धनबाट माओवादी केन्द्रका झलकबहादुर मगरसहित छ जना, तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका उत्तमकुमार शर्मा सुवेदी, वाम गठबन्धनबाट एमालेका हीराकुमार थापासहित ११ जना उम्मेदवार मतदातामाझ प्रचारप्रसार, कोणसभा र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यस क्षेत्रमा काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । झापा गाउँपालिका, गौरादह नगरपालिका– ९, गौरीगञ्ज गाउँपालिका– १ र २, कन्काइ नगरपालिका– १, २, ३, ४, ५, ६ र ७ तथा शिवसत्ताक्षी नगरपालिका रहेको यस क्षेत्रमा कूल एक लाख नौ हजार ४०१ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)